• १२ मंसिर २०८१, बुधबार

विराट सर्किट : सभ्यता संवादको अनुपम क्षेत्र

blog

मानस खण्डको सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएसँगै महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको राजधानीका रूपमा मान्यता पाएको विराटनगरमा पनि विराट सर्किटका बारे भेटघाट र बहस प्रारम्भ भएको छ । अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किटको अभ्यास भइरहेको तथा भगवान् बुद्धको महत्वपूर्ण स्थानलाई समेट्दै बुद्ध सर्किट चर्चामा रहेकाले मानस खण्ड सर्किट तथा विराट सर्किट नौलो प्रयास चाहिँ भने होइन । 

सुदूरपश्चिम मानस खण्ड तथा सुदूरपूर्वको विराट सर्किटका बारे एकै समयमा कुरा उठ्नु ऐतिहासिक महत्वको हुन सक्ने देखिन्छ । मानस खण्ड सर्किटबारे वैशाख २ गते भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाल र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु देउवाले उद्घाटन गरी तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले पहिलेदेखि नै गति लिइरहेकाले विराट सर्किटलाई पनि त्यही गतिमा छलफलमा लैजानु आवश्यक देखिन्छ ।

विराट सर्किट र नयाँ सम्भावना

‘यतो धर्मस्ततो जय’ महाभारतको मूल शिक्षालाई स्मरण गराउने महाभारतकालीन इतिहास समाज रूपान्तरणका लागि वर्तमान अवस्थामा पनि मूलमन्त्रका रूपमा उपयोगी रहेकाले इतिहासको चर्चासँगै विकासको वाहक बन्न सक्दछ । विराटनगर महानगरपालिका–१८, बुधनगर, भेडियारीमा संरक्षण गरी राखिएको विराट राजाको दरबार क्षेत्रको उत्खननपश्चात् अन्य धेरै पुरातात्त्विक जानकारीहरू पनि प्राप्त हुने नै छ । 

यहाँस्थित पोखरीहरू तथा अन्य संरचनाको उपस्थितिसँगै किचक बध, अर्जुनधारा, गोग्राहा तथा अन्य सम्बन्धित स्थानको पनि बढी जानकारी प्राप्त हुन गई महाभारतकालीन इतिहाससँग जोडिन पुग्ने छ । प्राचीन सभ्यताको साक्षीका रूपमा सभ्य संसार निर्माण गर्ने योजना प्रस्तुत गर्दै विश्वलाई नै सभ्य बनाउने अभियानको नेतृत्व गर्ने नैतिक आधार प्राप्त हुने छ । 

एसियाली सभ्यता संवाद र अबको नयाँ पहल

सन् २०१९ मा चीनमा युनेस्कोको संलग्नतामा सम्पन्न एसियाली सभ्यता संवादले नयाँ विश्व व्यवस्थाको सांस्कृतिक आधार प्रस्तुत गर्ने जमर्को गरेको पाइन्छ । सन् १९९० मा सोभियत रुसमा कम्युनिस्ट शासनको पतन र सोभियत सङ्घको विघटनपश्चात् शीत युद्धको समाप्ति भएको विश्लेषण गर्दै स्थामुल पी हंटिङ्टनले ‘द क्ल्यास अफ सिभिलाइजेसन एन्ड द मेकिङ न्यु वल्र्ड अर्डर’ पुस्तक प्रकाशित गरी सभ्यताहरूका माझ युद्ध हुन सक्ने निष्कर्ष निकालेको प्रसङ्गमा चीनमा सम्पन्न एसियाली सभ्यता संवादले गलत साबित गर्न खोजेको देखिन्छ ।

चीन र पश्चिमा शक्तिहरूको आपसी सैन्य तथा आर्थिक प्रतिस्पर्धाले सभ्यताहरूलाई पनि युद्धमा तान्ने त होइनन् भन्दै हामीले पनि चासो राख्दै विकल्प खोज्नु पर्दछ । यही पृष्ठभूमिमा नेपालले आफ्नो प्राचीन संस्कृति र सभ्यताहरूलाई उजागर गर्दै विश्वलाई शान्ति र समृद्धिको सन्देश दिन विराट सर्किट जस्तो अवधारणाले मद्दत पु-याउने छ । 

हिमालय सभ्यता र विश्वको स्वीकार्यता

‘अस्त्युतरस्थां दिशिः देवात्मा, हिमालयो नाम नगाधिराजः ।

पूर्वीपरौ तोयनिधी वगाहय, स्थितः पृथिव्या इव मानदण्डः ।’

भारत वर्षको उत्तर दिशामा देवतास्वरूप पर्वतहरूका राजा हिमालय पूर्व र पश्चिम समुद्रमा प्रविष्ट भएर पृथ्वीको मानदण्ड जस्तै स्थित छ भन्ने महाकवि कालीदासको रघुवंशम्मा उल्लेख तथ्यले हिमालय र नेपालीको गौरव बढेको पाइन्छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको कोशी प्रदेश अन्तर्गतको विराट सर्किट क्षेत्रबाट हिमाल संस्कृति र सभ्यताको पनि चर्चा गर्न पाउने अवसरले विश्व सभ्यता संवादका लागि पनि प्रेरित गर्दछ । द्वन्द्वरत विश्वको ध्यानलाई शान्ति र मेलमिलापतर्फ आकर्षित गर्न भूगोल र इतिहासले साथ दिइरहेको यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न सहज हुने छ । 

वराहक्षेत्र : सृष्टि र अवतारको जीवन्त क्षेत्र

पूर्वीय दर्शनले गरेको सृष्टि र अवतारको कथा अनुरूप पृथ्वीलाई वराह अवतारका रूपमा भगवान्ले उद्धार गरेको कुरा विश्वका अनुसन्धानकर्ताहरूले विश्वास गरेको कुरा हो । दस अवतारमध्ये वराह अवतारको तथ्यले प्राचीन विश्व सभ्यताको सम्बन्धमा चिन्तन गर्ने शास्त्रीय आधार प्रदान गर्दछ । आस्था र इतिहासको सङ्गमका रूपमा प्रसिद्ध वराहक्षेत्र वराहपुराणका कारण पनि जन–जनमा पुग्न सकेको छ । सम्पूर्ण भारतले समेत आस्था राख्ने यस क्षेत्रको महत्व बढाउँदै धार्मिक पर्यटनमा समेत अभिवृद्धि हुन गई समृद्धिको स्रोत बन्न सक्ने छ । वराहपुराणमा वर्णन गरिएको ‘पुण्डरीकाक्षपारस्त्रोत्र’ सम्पूर्ण विद्वान् र भक्तजनका हृदयमा ताजा रूपमा रहेको पाइन्छ । जसका कारण वराहक्षेत्र तीर्थका रूपमा रहेको छ ।

कोशी कोरिडोर : त्रिदेशीय सम्बन्ध सेतु

उत्तरी सीमा किमाथाङ्कादेखि दक्षिणी भारतीय सीमा जोगबनीलाई जोड्ने छोटो राजमार्गको निर्माणले त्रिदेशीय सम्बन्धको केन्द्र बन्ने हुँदा सभ्यता र समृद्धिको आधार भूमि बन्न सक्ने देखिन्छ । विश्वकै ठुलो जनसङ्ख्या भएको चीन र भारतका बिच भागमा रहेको नेपालको पर्यटनका लागि ठुलो जनसङ्ख्या वरदान नै साबित हुने छ । हिन्दु, किराँत र बौद्ध मार्गीको आस्थाको केन्द्र नेपालमा रहेको कारण पूर्वाधारको विकाससँगै पर्यटनको वृद्धि हुन गई आत्मनिर्भर नेपाल बन्ने छ । 

सौम्य शक्ति र विराट सर्किट

विश्वका शक्तिशाली मुलुकहरूका बिचमा आफ्नो प्रभावलाई स्थापित गर्दै शक्तिशाली बन्ने होडमा सौम्य शक्तिको पनि उपयोग हुने गरेको तथ्यले नेपालले पनि आफ्नो सौम्य शक्तिहरूको संरक्षण र विस्तार गर्नुपर्ने आवश्यकता भएको छ । महाभारतकालीन प्राचीन सभ्यता र मान्यतालाई विराट सर्किटको अवधारणा र उपस्थितिले प्रभावकारी बनाउने हुँदा यसको संरक्षण र विस्तारमा राज्यले ध्यान दिनुपर्ने छ । 

मुलुकको आर्थिक समृद्धि र अखण्डताको संरक्षणमा सफल परराष्ट्र नीति, सुशासन तथा सभ्यताहरूको संरक्षण र संवर्धनले महìवपूर्ण भूमिका खेले झैँ प्राचीन इतिहास र सम्पदाहरूले पनि सौम्य शक्तिका रूपमा कार्य गर्ने हुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक योगदान पु-याउने आधार प्रशस्त रहेका छन् । यही पृष्ठभूमिमा विराट सर्किटले महत्वपूर्ण योगदान पु-याउने हुँदा समयमै ध्यान दिनु उपयुक्त हुने छ ।

विराट सर्किट र भगवतीको दर्शन

गुप्तवासमा विराट राजाको दरबार क्षेत्रमा युधिष्ठिरसहित प्रवेश गर्दा आफ्नो रक्षाका लागि भगवतीसँग मनमनै प्रार्थना गरेपश्चात् भगवतीले आशीर्वाद दिएको प्रसङ्गले यो क्षेत्र देवीतीर्थका रूपमा स्थापित हुने देखिन्छ ।

राजा युधिष्ठिरद्वारा देवीको प्रार्थना गरेपश्चात् देवीले पनि रक्षा गर्ने वरदान दिएको प्रसङ्गले सिद्धक्षेत्रका रूपमा पनि मान्यता पाउने देखिन्छ । राष्ट्रलाई सङ्कट परेका बेला यस स्थानमा भक्तिभावले प्रार्थना गर्दा मुलुक र मुलुकवासीको रक्षा हुने देखिन्छ । हाम्रा संस्कृति सभ्यताहरू आस्थाका केन्द्रका रूपमा पनि विकास हुन सक्ने हुँदा तीर्थका रूपमा पनि मान्यता प्राप्त गर्न सक्ने छन् । आन्तरिक र बाह्य पर्यटनको आकर्षणको केन्द्र बन्नुका साथै विश्वले मान्ने क्षेत्रका रूपमा स्थापित हुन गई सौम्य शक्तिको सफल प्रयोग क्षेत्र बन्ने छन् । 

विराट सर्किट र स्वराज्य

कौरव र पाण्डवबिच एका परिवारको द्वन्द्व भएता पनि राज्य प्राप्ति तथा स्वराज्य स्थापनाको पनि विषय भएकाले राजनीतिक महìव महाभारतको रहेको छ । नेपालमै पनि विगतमा माओवादी द्वन्द्वको घटनालाई विश्लेषण गर्दै धार्मिक जगत्ले स्वराज्य र मेलमिलापलाई निकासको सूत्रका रूपमा प्रस्तुत गरी अभियान सञ्चालन गरिरहेकाले द्वन्द्व व्यवस्थापनको सैद्धान्तिक भूमि विराट सर्किट बन्न सक्ने देखिन्छ । मुलुकलाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढाउन महाभारतको दृष्टान्तदेखि मौलिक नेपाली ज्ञानलाई शिक्षामार्फत पठनपाठन क्षेत्रका रूपमा पनि बढाउन सकिन्छ । ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानमार्फत यही क्षेत्रबाट सम्भावित द्वन्द्वहरूलाई समाधान गर्न  प्रेरितगर्न सकिन्छ । 

‘आ यद वामीयचक्षसा मित्र वयं च सुरयः ।

व्यचिष्ठे वहुपाय्ये यते महि स्वराज्ये ।।’

अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्य शासनमा आमनागरिकको भलाइका लागि रहौँ भन्ने ऋग्वेदको वचन अनुरूप प्रजातन्त्र, राष्ट्रियता र समावेशी राज्य स्थापनाको सैद्धान्तिक स्थल बन्न सक्ने देखिन्छ । सौम्य शक्ति, आर्थिक कूटनीति र द्वन्द्व रूपान्तरणको सांस्कृतिक भूमिका रूपमा विराट सर्किट अगाडि बढ्नुका साथै सभ्यता संवादको विश्वभूमि बन्ने छ । 

स्थानीय सरकार र समृद्धिको प्रयास

नेपालको संविधान, २०७२ को सफल कार्यान्वयनसँगै अस्तित्वमा आएको स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय सरकारले यी कार्यक्रममार्फत सभ्यता र समृद्धिलाई सँगसँगै लैजाने प्रयास गरिनुपर्ने देखिन्छ ।

  

Author

केशवप्रसाद चौलागाईं