• १२ मंसिर २०८१, बुधबार

चिकित्सकको उमेर हद ४५ वर्ष कायम गर्न माग

blog

काठमाडौँ, भदौ २ गते । स्वास्थ्य ऐन अनुसार चिकित्सकलाई सरकारी सेवा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्नुपर्ने माग गरिएको छ । 

विभिन्न प्रदेशमा विज्ञापन गर्दा ४० वर्ष उमेर हद तोकेको भन्दै त्यसलाई सच्याएर ४५ वर्ष कायम गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आगामी दिनमा प्रकाशित गरिने पदपूर्तिसम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐनबमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत उमेर हदलाई नसच्याएको बताउनुभयो ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यताको उपदफा (ग) बमोजिम पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा नभएको मापदण्डसम्बन्धी सङ्घको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्मविपरीत अवैज्ञानिक रूपमा उमेरको हद कायम गरिएको हुनाले देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न माग गरिएको बताउनुभयो ।