• ८ पुस २०८१, सोमबार

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा छ : उपप्रधानमन्त्री खड्का

blog

नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, भदौ १ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पार्नुभएको छ। 

नेपाल निजामती कर्मचारी युनियनको काठमाडौंमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताउनुभयो। 

रक्षामन्त्रीसमेत रहनुभएका खड्काले भन्नुभयो, “निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ। साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवाहरु झण्झटरहितरुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्नेछ।” 

उहाँले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने स्पष्ट पार्नुभयो। 

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यतिबेला देशको अर्थतन्त्रको अवस्थाबारे तपाईं जानकार नै हुनुहुन्छ, अर्थतन्त्रमा धेरै भार नपर्ने र निजामती कर्मचारीको हित हुने कैयन विषय ऐनमा समेटिएका पनि छन्। तर अर्थतन्त्रमा भार पर्ने विषयपछि विस्तारै  सम्बोधन गर्नुपर्ने अवस्था छ।” 

उहाँले कर्मचारीलाई सम्बोधन गर्दै अहिले त्याग गर्ने बेला भएको भन्दै अर्थतन्त्र सुधार भएसँगै सबै समस्या सम्बोधन हुनेसमेत बताउनुभयो। 

उपप्रधानमन्त्री खड्काले अहिलेको सरकार र सत्तारुढ गठबन्धन निजामती कर्मचारी हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध रहेकोसमेत प्रष्ट पार्नुभयो। 

उहाँले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राख्नुभयो। उहाँले नागरिकलाई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा ध्यान दिन कर्मचारीलाई आग्रह समेत गर्नुभयो। 

सरकारले अहिले सरोकारावला सबै निकायसँग छलफल गरेर ऐन निर्माण गरेका कारण निजामती ऐनले सबैको हित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।