• ४ पुस २०८१, बिहिबार

सरकारले बेथितिको अन्त्य गर्ने कोसिस गरेको छ : मन्त्री गुरुङ

blog

गुरुङ प्रसारण दिवसको अवसरमा आयोजित सम्मान तथा गुरुङ न्युज डटकमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शहरी विकास मन्त्री सीता गुरुङ । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ १ गते । शहरी विकास मन्त्री सीता गुरुङले सरकारले सरकारले बेथितिको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताउनुभएको छ । 

गुरुङ प्रसारण दिवसको अवसरमा आयोजित सम्मान तथा गुरुङ न्युज डटकमको शुभारम्भ गर्दै शुक्रबार मन्त्री गुरुङले यस्तो विचार राख्नुभएको हो ।  

मन्त्री गुरुङले भन्नुभयो, ‘‘सरकारले सुशासनका निम्ति राम्रो कामको सुरुआत गरेको छ । एउटा विषय टुङ्गो नलाग्दै अरू अरू विषय आउँदा के गर्न खोजेको हो भन्ने लाग्न सक्छ, तर व्यक्तिलाई नहेरेर बेथितिहरूको अन्त्य गर्नुपर्छ भनेर सरकार लागेको छ ।’’

मन्त्री गुरुङले राज्यमा बस्ने नागरिकहरू नागरिकताविहीन हुनुहुँदैन भनेर राज्य लागेको समेत बताउनुभयो। 

राज्यले बोल्न नसक्नेहरूको आवाज बोल्दिनुपर्ने अन्यायमा परेका पक्षमा बोल्नुपर्ने भन्दै उहाँले न्याय दिनुपर्ने मुख्य जिम्मेवारी राज्यको हो तर पनि राज्यले जति गर्नुपर्ने हो त्यति गर्न नसकेकाले सरकारले प्रयास गरिरहेको उहाले दाबी गर्नुभयो । 

मन्त्रीको जिम्मेवारीमा रहँदा सबै कुरा चाहेर पनि गर्न नसकिने सन्दर्भ औंल्याउँदै मन्त्री गुरुङले आदिवासी जनजातिहरूको सांस्कृतिक सम्पदालाई जगेर्ना जोड दिनुभयो । 


पहिचानको मूल आधार भनेको घरभित्रैको एजेण्डा हो भन्ने कुरालाई दृष्टिगत गर्दै उहाँले ती कुरालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने ठानेर धेरै आदिवासी जनजातिहरूको आवास निर्माण कार्यलाई प्राथमिकता दिइएको समेत बताउनु भयो । 

मन्त्री गुरुङले भन्नुभयो, ‘‘सामाजिक महत्वका भवनहरू निर्माण गर्नका निम्ति बजेट बिनियोजन गरेको छु । नयाँ शहरहरूलाई पनि प्राथमिकता दिइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतका मौलिक शहरहरूलाई पनि प्राथमिकता दिइएको छ । विविधलाई समेट्ने खालको क्षेत्रमा प्राथमिकता दिइएको छ ।

उहाँले अहिलेसम्म आइपुग्दा आदिवासी जनजातिभित्रैको विविध जाति, समुदायबीचको एकतालाई अक्षुण्ण राख्न नसक्दा आदिवासीको यथार्थलाई सामूहिक रुपमा राज्यसामु पुर्‍याउन नसकेको भन्दै राज्यले नबुझ्दाखेरि आदिवासीले अहिले पनि हामीलाई हाम्रो पहिचान चाहिन्छ भनिरहनुपरेको बताउनु भयो । 

पहिचानभित्र भाषा, संस्कार, संस्कृति, भेषभूषा, परम्परागत रुपमा हामीले मान्दै आएको चाडपर्व, कानूनका कुरा पनि हाम्रो पहिचान हो है भनिरहेका छौँ । त्यो हिसाबको खबरदारी जारी रहोस् । हामीले हाम्रो यात्राको यात्रा निर्धारण गरिँदैन । गरिहाले पनि बीचैमा थाक्छौँ । यी कुराको संरक्षण पनि गर्न जरुरी छ, मन्त्री गुरुङले भन्नुभयो ।

 अधिकार प्राप्तिमा थाक्ने होइन निरन्तर खबरदारी आवश्यक हुन्छ भन्दै मन्त्री गुरुङले तपाईंहरू कोही पनि नथाक्नुस्, निराश नहुनुस् हामीले भोलिको भविष्य सुन्दर नै देख्नुपर्छ । सपना  नै सुन्दर देखेनौं भने सफल भइदैन । आज पूरा भएन भनेर निराश नभएमा पक्कै पनि गन्तव्यमा पुगिन्छ ।’