• ११ मंसिर २०८१, मङ्गलबार

केरुङ हुँदै हुम्लामा खाद्यान्न ल्याइँदै

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमिकोट । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, भदौ १ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने भएको छ । जिल्लामा खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पठाउन लागेको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जानकारी दिनुभयो ।

उहाँले खाद्य कम्पनी काठमाडौंबाट खाद्यान्न बुझेर लोड गरिएको गाडी भदौ २ गते ल्याइन लागेका बताउनुभयो । सो खाद्यान्न भदौ पहिलो हप्ताभित्र हिल्सा हुँदै सिमकोट ढुवानी हुनेछ ।

उक्त खाद्यान्नमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । मार्गबाट आउनुपर्ने सो खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्नेछ ।

उहाँले काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रति क्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यान्न चार हजार आठ सय रुपियाँ ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।