• १४ मंसिर २०८१, शुक्रबार

विद्युत् महसुलमा अनुदान

blog

कावासोती समाचारदाता 

कावासोती, भदौ १ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर यस्तो अनुदान दिन लागिएको हो। 

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कृषि खेतीमा सहज होस् भनेर सिँचाइमा अनुदान दिन लागेको बताउनुभयो। उपप्रमुख फुलकुमारी थनेतले कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको बताउनुहुन्छ। नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको किसानलाई सिँचाइमा सुविधा दिने योजना अनुसार बजेटसमेत व्यवस्थापन गरेको उहाँले बताउनुभयो। 

कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले कावासोती नगरपालिकाले नगरभित्र रहेका कृषि फर्म, समूह, सहकारीमा रहेका कृषि सिँचाइ मिटरको अभिलेख राखी वार्षिक रूपमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान दिइने बताउनुभयो। कृषिमा सिँचाइको समस्याले गर्दा उत्पादनमा कमी हुने भएकाले उत्पादन बढाउन र किसानको उत्पादन लागत घटाउन अनुदानको कार्यक्रम राखिएको शाखा प्रमुख कुमालले बताउनुभयो। 

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा समेत सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेको थियो। गतवर्ष समूह, सहकारी, कृषि फार्मलाई सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेकोमा यस वर्ष विद्युत् खपत गरेबापतको शुल्कमा अनुदान प्रदान गर्न लागिएको शाखा प्रमुख कुमालले बताउनुभयो। ७५ प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गर्ने कार्यक्रम राखिएको उहाँले बताउनुभयो। 

कावासोती नगरपालिका कृषिका लागि सम्भावना भएको क्षेत्रका रूपमा रहेको छ। यस नगरपालिकाभित्र करिब दुई हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन रहेको छ। नगरपालिकाले विभिन्न वडामा फरक फरक बालीको पकेट विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।