• ११ असोज २०८१, शुक्रबार

द्विपक्षीय आर्थिक सहयोग बढाऔँ : उपराष्ट्रपति यादव

blog

काठमाडौँ, भदौ १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल–चीन द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। चीनको युनान प्रान्तमा आयोजित सातौँ चाइना साउथ एसिया एक्स्पो र २७ औँ चाइना कुनमिङ आयात तथा निर्यात मेलाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, सम्पर्क सञ्जाल र जलविद्युत् क्षेत्रमा लगानी गर्न चीन सरकारलाई आह्वान गर्नुभयो।

सो कार्यक्रमलगत्तै उपराष्ट्रपति यादवले त्यहाँस्थित नेपाली उत्पादनको प्रदर्शनी (नेपाल प्याभिलियन) को उद्घाटन गर्नुभयो। उहाँले नेपाल र चीनका निजी उद्यमीबिचको आर्थिक साझेदारीलाई प्रगाढ बनाउन थप बिजनेस टु बिजनेस (बिटुबी) अन्तव्र्रिmया गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्नुभयो। प्रदर्शनीबिच चीनका विदेशमन्त्री वाङ यीले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गर्नुभयो। सो भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको चीनस्थित नेपाली दूतावासले जनाएको । 

यसैबिच उद्घाटन समारोहपछि आयोजित अर्को सत्रमा आयोजित चीन–दक्षिण एसिया प्रविधि हस्तान्तरण र सहयोगात्मक नवप्रवर्तनको चौथो मञ्चलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सम्बोधन गर्नुभयो। नेपालमा प्रविधि र नवप्रवर्तनको विकासका लागि भएका पहलबारे जानकारी गराउँदै उहाँले नेपाललाई प्रविधि हस्तान्तरणको आवश्यकता र महत्व रहेको बताउनुभयो। 

त्यसै गरी परराष्ट्र सचिव भरतराज पौड्याल र युनान प्रान्तका उपगभर्नर वाङ हाओबिच महोत्सवको सेरोफेरोमा भेटवार्ता भएको छ। भेटमा दुई देशबिचको थप साझेदारीका विषयमा कुराकानी भएको जनाइएको छ। चौथो चीन–दक्षिण एसिया व्यापार मञ्चमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु मरासिनीले दुई देशबिचको थप साझेदारी र पहलबारे जानकारी गराउनुभयो।  

यसैबिच उपराष्ट्रपति यादवसँग बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तका नेताहरूले भेट गर्नुभएको छ। भेटमा दुई देशबिच आपसी हितका बारेमा छलफल भएको बताइएको छ।