• ११ मंसिर २०८१, मङ्गलबार

नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण

blog

बिहीबार विधिपूर्वक आफ्नो कला प्रस्तुत गर्दै बाँसुरी तथा खिं (मादल) टोली । तस्बिर: विकाश द्वारे

यलु जोशी 

भक्तपुर, साउन ३२ गते। हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बाँसुरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो। 

सिद्धि गणेश दाफा भजन खलःले गत १५ महिनादेखि बाँसुरी प्रशिक्षण दिइरहेको बिहीबार समापन गरी नगर परिक्रममा गरिएको हो। मध्यपुर थिमि–१ लोकन्थलीद्वारा आयोजित बाँसुरी बादन प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) मा आठ वर्षको बालक देखि ३८ वर्षको युवासम्म मौलिक पहिरणमा सजिएर बाँसुरी बजाउनुभएको थियो। 

सङ्गीतलाई माया गर्ने युवापुस्ताको कमी छैन। सङ्गीतलाई माया गर्नुको साथै परम्परागत बाजा सिक्नमा पनि उत्साहित छन् अहिलेका युवापुस्ता। “हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ” प्रशिक्षक साहिल द्वारे भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ।”

२० वर्षीय गुरु द्वारे आफूले सिकेको बाँसुरी वादनलाई अरूले पनि सिक्नुपर्छ भन्ने उद्देश्यले सिकाएको जानकारी दिनुभयो। उहाँले युवापुस्ताले नै सङ्गीतको संरक्षण गर्नुपर्छ भन्ने मान्यताको साथ नेपाली गीतमात्र नभएर सङ्गीतको धेरै कुरा पनि सिकाएको छु। राग, सुर, तानपुरा, नोटेसन र विट कसरी गन्ने भन्ने कुरा पनि सिकाएको छु। 

आधुनिक प्रविधिलाई पुरानो सङ्गीतमा मिलाएर सिकाउने प्रयास गरेको छु गुरु द्वारेले भन्नुभयो, ‘जसले बाँसुरी एउटा कला मात्र नभएर जीविकोपार्जन गर्ने साधन पनि बनाउन सक्ने होस्।’ 

कम्प्युटर एप्लिकेसनमा स्नातक विवेक हेक्कालाई सधैँ पढ्नुको चटारो हुन्छ। तैपनि इच्छा भए उपाय अनेक भनेझैँ उहाँको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकटोक गरेको छैन। समय मिलाएर उहाँले बाँसुरी सिक्न थालेको १५ महिनामा परिणाम आएको छ। विभिन्न गीत र लयमा बाँसुरीबाट धुन निकाल्नुहुन्छ। 

बाँसुरी बजाउँदा हेक्का आफैँ मन्त्रमुग्ध त हुनुहुन्छ, सुन्नेहरू पनि आनन्दित हुन्छन्। उहाँ भन्नुहुन्छ, “समूहमा बसेर बाँसुरी बजाउनुको मजा नै बेग्लै हुन्छ।” 

उहाँ मात्र होइन हसिना द्वारेलाई पनि बाँसुरी धुन भनेपछि धेरै मनपर्ने बताउनुहुन्छ। पढाइ सकेर साँझ  सबै जना बाँसुरी सिक्न पुग्नुहुन्छ। बाँसुरीको धुनले सबै दुःख र पीडा बिर्सने अनुभव छ। रोजिना हेक्कालाई अरूले बाँसुरी बजाउँदा धेरै रमाइलो लाग्ने भएकोले आफूले सिक्दा झन् रमाइलो लाग्ने बताउनुहुन्छ। 

गुरु द्वारे भन्नुहुन्छ, “हामीले सिक्ने इच्छुक व्यक्तिलाई सिकाउने गर्छौँ। बाजाको संरक्षणका लागि यो अत्यन्त महत्त्वपूर्ण भएका कारण बेलुका सिकाउने गर्छौँ। प्रशिक्षार्थी सँगसँगै बसेर बाजा बजाउँदा बेग्लै आनन्द हुन्छ। सबै उमेरका व्यक्ति आउने हुँदा हरेकलाई सिकाउँदा फरक–फरक अनुभव हुन्छ।” 

युवापुस्ताले निकै चाख मानेर नेवारी बाजा बजाउन सिक्न आउँदा उहाँ दङ्ग हुन्छन्। केही समयअघिसम्म नेवार समुदायमा बाजा बजाउने भन्नासाथ महर्जन अर्थात् ज्यापुहरूलाई बुझिन्थ्यो। अहिले यो ट्रेन्डमा परिवर्तन आएको छ।

बाँसुरीमा मुख्य गरी टिप बाँसुरी दुई र घोर बाँसुरी पाँच वटा गरी सात बाँसुरी, ढोलक, कछिमा, लाखी, मादल, झ्याली बजाइन्छ।