• २८ वैशाख २०८२, आइतबार

दमक बसपार्कलाई सुरक्षित र व्यवस्थित बनाइँदै

blog

दमक बसपार्क ।

विष्णुप्रसाद पोखरेल

दमक, साउन ३२ गते । झापाको दमक नगरपालिकाले दमक बसपार्कलाई व्यवस्थित गर्ने भएको छ । दमक नगरपालिकाको १३औँ नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सम्बन्धमा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले दमक बसपार्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक काम सुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभएको हो ।

नगर प्रमुख थापाका अनुसार बसपार्क हाताभित्र कुनै पनि आपराधिक गतिविधि तथा घटनाहरू नियन्त्रण सहित शान्ति सुरक्षाका लागि आवश्यक स्थानहरूमा सिसी क्यामरा जडान गर्ने गरी काम अघि बढेको छ । “यसको नियन्त्रण प्रणाली इलाका प्रहरी कार्यालय दमकबाट हुने व्यवस्था मिलाउने छलफलबाट निर्णय भएको छ”, थापाले भन्नुभयो । बसपार्क क्षेत्रमा चोरी तथा अन्य विभिन्न प्रकार अवाञ्छित गतिविधि हुँदै आएको व्यवसायीहरूले बताउँदै आएका थिए ।

यातायात व्यवस्थापन समिति अन्तर्गत गठित बसपार्क व्यवस्थापन उपसमितिलाई थप क्रियाशील बनाई बसपार्क हाताभित्र थप व्यवस्थापकीय काम सुरु गर्नेपनि थापाले जनाउनुभयो । बसपार्कबाट पूर्वतर्फ नगरपालिका जाने मूल सडक हुँदै पूर्व पश्चिम लोकमार्गको रतुवा पुलसम्म कुनैपनि यात्रुवाहक सवारीसाधन बस, कार, भेन, ट्याम्पो, सिटि सफारीले स्टेण्ड कायम गरी रोक्न निषेध गरिएको छ ।

बसपार्क हाताभित्र रहेको टर्मिनल भवन बाहेक अन्यत्र टिकट बुकिङ काउन्टर राख्न पूर्ण रूपले निषेध गर्ने र कहीँ कतै राखेको पाइएमा तत्काल हटाउने निर्णय भएको र भदौ १ देखि यसलाई पूर्ण कार्यान्वयन गरिने दमक वडा नं. ३ का वडाध्यक्ष एवम् दमक नगर यातायात व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

दमकको मुख्य चोकमा दुर्घटना नियन्त्रणका लागि छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधनहरू अनिवार्य बसपार्क हाताभित्र प्रवेश गर्ने गराउने, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत रतुवा पुलबाट पश्चिम बसपार्क प्रवेशमार्गसम्म सबै किसिमका तीनपाङग्रे र चारपाङग्रे सवारीसाधनहरू रोक्न निषेध गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

गणतन्त्र चौक आकाशे पुलदेखि पश्चिम पशुपति आलय सेन्टर सम्म अटो, सिटि सपारी मुख्य ट्र्याकबाट सञ्चालन गर्न निषेध गर्ने जस्ता निर्णयहरू भएको सापकोटाले बताउनुभएको छ । दमकको मुख्य चोकमा धेरै नै अस्तव्यस्त र दुर्घटना बढेपछि जनपथ प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी सहितको सर्वपक्षीय छलफल र सहमतिमा नै यो निर्णय भएकाले कार्यान्वयन हुने सापकोटाले जानकारी दिनुभयो ।