• १४ मंसिर २०८१, शुक्रबार

झरनामा आन्तरिक पर्यटकको आकर्षण (फोटो फिचर)

blog

ताप्लेजुङको फुङफुङले झरनामा पुगेका आन्तरिक पर्यटक । तस्विर : नारायण तुम्बापो ।

नारायण तुम्बापो

फिदिम, साउन ३२ गते। हामी सबैलाई थाहा छ पानीको सुन्दर फोहोराको एउटा रुप हो झरना। पानी छोटो–लामो छाँगा वा छहराको डिलबाट अविरल ओर्लिने क्रममा झरनाको स्वरुप सिर्जना हुन्छ। झरनाले छुट्टै रोमाञ्चक साङ्गीतिक लय नै हाल्छ। पानीको वाद्यवादन, गायन र नृत्यको संयुक्त प्रस्तुति पोखिन्छ। 

झरनाको आकृति हेरेर र आवाज सुनेर धेरै रोमाञ्चित हुन सकिन्छ। जसले मानवीय तनाव हरण गराएर आनन्द वरण गराइदिन्छ। अनि नै त हामी जो कोही झरना भनेपछि हुरुक्कै हुन खोज्छौ। झरनासँग आमने सामने भएर झुम्न, रम्न, भिज्न फुरुक्कै हुन्छौँ। 

यस्ता झरना हिमाल, पहाडको देश नेपालमा झरझरको आवाजमा आउ मलाई हेर्न भन्दै पर्यटक बोलाउदै ओझेलिएर बसेका धेरै छन्। खुसीकै कुरो पछिल्लो समय मुख्य गरेर सूचना प्रविधिको विकाससँगै कतिपय झरनाले प्रचार पाउन थालेका छन्। 

विशेष गरेर फेसबुक, युट्युब, टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले झरनासँग जोडिएर उत्पादन गरेका सामग्री प्रकाशन प्रसारण गर्ने गरेका छन्। फलस्वरुप प्रचार पाएका झरनामा पर्यटकको आवागमन बढ्न थाल्दा आम्दानीसँग जोडेर यसको प्रवर्धन गर्न स्थानीय हौसिएका छन्। 

सरकारसँग आर्थिक सहयोग लिएर झरना क्षेत्रमा यातायातको पहुँच पुर्‍याउनुका साथै पर्यटकमैत्री विभिन्न संरचना निर्माण गर्न स्थानीयवासी अग्रसर हुन थालेका छन्। पर्यटनसँग  आधारित भएर प्रवद्र्धन गरिएका झरनामा पर्यटकको आकर्षण पनि बढ्न थालेको छ। यसका उदाहरण पूर्वी धनकुटाको नमस्ते, तेह्रथुमको ह्यात्रुङ, ताप्लेजुङको फुङफुङ्गे, पाँचथरको मिलुङ, मुवा झरना छन्। 

यी झरनाहरुमा हिजोआज पर्यटकको घुइँचो लाग्ने गरेको छ। विशेष गरेर पानीको बहाव बढ्ने समयमा झरनालाई आकृति र आवाजका हिसाबले  धेरै आकर्षक अवतारमा हेर्न, सुन्न पाइन्छ। गर्मी याममा शीतलता पनि प्रदान गर्छ। त्यसैले पनि हिजो आज पूर्वी क्षेत्रको झरनामा पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ। यसबाट स्थानीयवासीको आर्थिक सशक्तीकरणको स्रोत सिर्जन हुने गरि विभिन्न पेशा व्यवसाय प्रवर्द्धन हुनमा सघाउ हुन थालेको छ। 

स्थिर वा जमेको भन्दा तीव्र गतिको चलायमान पानी प्राणी तथा वनस्पति जगतका लागि धेरै उपयोगी हुने अध्ययनमा देखिन्छ। झरनाले फोहोर पानी शुद्धीकरण गर्न सघाउने वैज्ञानिक धारणा रहेको बताइन्छ। झरनाको स्रोत भन्नु नै हिमपात र पानीको मुहान हुन्। जलवायु परिवर्तनका कारण कम हिमपात र वर्षाद हुने क्रम बढ्दा नेपालका धेरै झरना नाम मात्रका झरनामा परिणत भइरहेको अवस्था छ। यिनको पारिस्थितिकीय प्रणालीमा रोकावट आउन नदिन जलवायु परिवर्तन रोक्नमा सबैले जोड दिन आवश्यक देखिन्छ।