• २० असोज २०८१, आइतबार

फक्ताङ्लुङ गाउँपालिकामा फोरजी सेवा सुरु

blog

लेलेपको लोवाडाँडामा निर्माण गरिएको फोरजी प्रविधि जडान गरिएको टेलिकमको टावर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ३२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएको छ । जिल्लाकै दुर्गम तथा विकट क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकामा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको लोवा डाँडामा फोरजीका लागि प्रविधि जडानसहित टावर निर्माण गरिएपछि बुधबारदेखि सेवा सुचारु भएको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको माथिल्लो भेग बतासे, इलाडाँडा, पिपलचौक, लेलेप, लुङ्थुङ, लावाजिन, किसङ्मालगायतमा सुविधा पुगेको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राले जानकारी दिनुभयो । 

यस्तै, वडा ५ तापेथोक, हेल्लोक, सेँवाजस्ता दुर्गम बस्तीहरुमासमेत फोरजी सेवा सञ्चालनमा आएको उपाध्यक्ष साम्राले बताउनुभयो । उहाँका अनुसार फोरजी सेवाबाट फक्ताङ्लुङ गाउँपालिकाका मात्रै करिब तीन हजार जनसङ्ख्या लाभान्वित बनेका छन् ।

फोरजी सेवा सुचारु भएपछि स्थानीय उपभोक्तासँगै यहाँ भित्रिने पर्यटकलाई पनि सुविधा हुने भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी कार्यालयले प्रवाह गर्ने सेवाका लागिसमेत फोरजी इन्टरनेट सुविधाले सहज हुने भएको अध्यक्ष लिम्बूको भनाइ छ । 

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल फक्ताङ्लुङ गाउँपालिकाभित्रै पर्ने भएकाले कञ्चनजङ्घालगायत यस क्षेत्रमा रहेको पर्यटकीय स्थलको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाईसमेत फोरजी सेवाले सुविधा हुने बताइएको छ । दुर्गम क्षेत्रका सर्वसाधारण उपभोक्ता र पर्यटकलाईसमेत दृष्टिगत गरी फोरजी सेवा सञ्चालनका लागि फक्ताङ्लुङ गाउँपालिकाले पहल प्रयत्न निरन्तर गर्दै आएको थियो ।