• २२ वैशाख २०८१, शनिबार

लिमीमा नेपाल टेलिकमको फोर जी सेवा

blog

लिमीमा जडान गरिएको फोर जी सेवाको टावर र वडा अध्यक्षसहित प्राविधिक टोली । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन ३२ गते ।
हिमालपारीको गाउँको उपमा पाएको लिमीका तीनै गाउँमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दाहरुलाई सञ्चार सम्पर्क गर्न सहज भएको हो ।

नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले निक्कै प्रयास पनि लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको बताउनुभयो । उहाँले इन्टरनेट चलाउने सेवाग्राही कमै भएको कारण फोर जी सेवा गुणस्तरीय रहेको बताउनुहुँदै गाउँ बाहिर देश विदेश रहेका आफन्तसँग सञ्चार सम्पर्क गर्न सहज भएको बताउनुभयो ।

चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएकोले लिमीका तीनै गाउँ तील, हल्जी र जाँङ इन्टरनेटको पहुँचमा जोडिएका छन् । लिमीको हल्जी गाउँमा यसअघि वर्ल्ड लिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो । उहाँले उक्त सेवा निक्कै सुस्त भएको कारण सेवाग्राहीले भनेको बेला इन्टरनेट चलाउन नसक्ने अवस्था रहेको अवस्थामा अहिले भने चौबिसैं घण्टा लिमीका बासिन्दा इन्टरनेटको पहुँचमा रहेको बताउनुभयो ।

फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ । छिटो र गुणस्तरीय इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरु निक्कै हर्षित भएका छन् । यसैसँग वडा कार्यालयमा समेत इन्टरनेट गर्नुपर्ने कामलाई समेत सहज भएको छ ।