• २३ वैशाख २०८१, आइतबार

लालपुर्जा छ, जग्गा छैन

blog

बाबुराम देवकोटा

दुधौली (सिन्धुली), साउन ३२ गते । हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । 

साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो । 

किसान श्रेष्ठको ऐलानी र नम्बरी गरी उक्त ठाउँमा करिब दुई बिघा जति खेत थियो । बाढीले खोला छेउमा रहेको नम्बरी जति खेत कटान गरेको र अब ऐलानी खेत मात्रै रहेको उहाँले जानकारी दिनुभयो । 

सिन्धुली जिल्लामा कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रका किसान बर्सेनि नदी कटानको चपेटामा पर्दै आएका छन् । कमलाखुँज क्षेत्रमा कमला नदी, मरिण क्षेत्रमा मरिण खोला र तीनपाटन क्षेत्रमा चँदाहा खोलाको बाढीले बर्सेनि उर्वर जमिन कटान गरी बगरमा परिणत गर्दै आएको स्थानीयले बताएका हुन् । 

तीनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द राउतले पनि चँदाहा खोलामा बर्सेनि आउने बाढीको कटानबाट सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्न भण्डार तीनपाटन क्षेत्र मासिँदै गएको बताउनुभयो । उहाँका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्वर भूमिका रूपमा परिचित तीनपाटन फाँट बर्सेनि बगरमा परिणत बन्दै गएको छ । 

चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका–१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भई सकेको र यो वर्ष पनि सात जना किसानको एक बिघा जति खेत बगाइसकेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार चँदाहा खोलाले तीनपाटन क्षेत्रमा २०२२ सालदेखि कटान गर्न सुरु गरेको हो । २०४१ सालमा सेती पहिरोले हाडी खोला थुनेको र थुनिएको खोला फुटेपछि तीनपाटन क्षेत्रमा सबभन्दा बढी क्षति गरेको थियो । त्यसपछि बाढीसँगै बगेर आएको ढुङ्गामाटोले खोलाको सतह माथि ल्यायो र जथाभाबी कटान सुरु ग¥यो । “त्यसपछि चँदाहा खोलाले बर्सेनि कटान गरी क्षति पु¥याउँदै आएको छ । चँदाहा खोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुमवासी बनेर अढाई सयभन्दा बढी किसान विस्थापित भएका छन् । खोलाले धार परिवर्तन गरी एक÷दुई वर्ष वल्लो किनार र अर्को एक दुई वर्ष पल्लो किनारबाट  बग्दै आएको छ,” वडाध्यक्ष राउतले भन्नुभयो । 

कमला नदीले पटक पटक गरी आफ्नो पनि १४ बिघा खेत बगाएर सुकुमवासी बनाएको र अहिले आफ्नो हातमा लालपुर्जा मात्रै बाँकी रहेको दुधौली नगरपालिका–११, टाँडीका किसान धर्म कुमरले बताउनुभयो । त्यस क्षेत्रमा कमला नदीमा २०४१ र २०५० सालमा आएको बाढीले बढी क्षति गरेको उहाँको भनाइ छ । किसान कुमरले भन्नुभयो, “कमला नदीमा पटक पटक आएको बाढीले भएको खेत सबै कमला बगायो, अहिले बनिबुतो गरेर आफ्नो २५ जनाको परिवार पालिएका छौँ ।” 

स्थानीय किसानका अनुसार टाँडीमा मात्रै कमला नदीको कटानबाट १८५ घरपरिवारको खेत असुरक्षित रहेको छ । कमला नदीले कमलाखुँज क्षेत्रमा सयौँ किसानलाई सुकुमवासी बनाएको छ । कमला नदी नियन्त्रणका लागि दुधौली नगरपालिकाले उक्त नदीको दुवै किनारमा कोरिडोर निर्माण सुरु गरे पनि पर्याप्त बजेटको अभावमा काम प्रभावकारी हुन नसकेको दुधौली नगरपालिका–२ का वडाध्यक्ष रितेश राउतले बताउनुभयो ।