• २० असोज २०८१, आइतबार

सर्वसाधारणको २४ करोड ठगी गर्ने दम्पती कारागार चलान

blog

सर्वसाधारणको २४ करोड बढी रकम ठगी गर्ने सोमनाथ विश्वकर्मा । तस्बिर: गोरखापत्र

लिलाराज खड्का

बिर्तामोड, साउन ३२ गते । झापामा सर्वसाधारणको साढे २४ करोड रकम ठगी गरी पक्राउ परेका झापा गौरादहका  विश्वकर्मा दम्पती पुर्पक्षका लागि  कारागार चलान भएका छन् । 

झापा जिल्ला अदालतले मङ्गलवार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरू दुबैजनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले  बताउनुभयो  ।  विश्वकर्मा दम्पतीलाई कडा सुरक्षाबिच कारागार पठाइएको थियो ।

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिएको थियो ।

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर फरार भएका थिए । विश्वकर्मा फरार भएसँगै   पीडितहरूले उनी विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रहरीले विश्वकर्मासहित उनकी श्रीमतीलाई पक्राउ गरी मुद्दा चलाएको हो ।   सो ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  

विश्वकर्मा दम्पती गौरादहमा सुनचाँदीको व्यवसाय गर्दै आएका थिए उनीहरूको जिल्लाभरका सर्वसाधरणलाई महँगो ब्याज दिने प्रलोभनमा पारि रकम सङ्कलन गरी फरार भएका थिए ।