• ८ पुस २०८१, सोमबार

कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दियो, २० घाइते

blog

पूर्वपश्चिम राजमार्गको टिकौली खण्डमा भएको सवारी दुर्घटना । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी
चितवन, साउन ३१ गते । 
पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा बुधबार बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बुधबार बिहान ११ः४० बजेको समयमा भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर आएको बलेरो गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

लास बोकेको गाडीलाई ठक्कर दिँदा मलामी आएका थुप्रै मोटरसाइकल र स्कुटर समेत एक आपसमा ठोकिइ दुर्घटनामा परेका छन् ।

प्रहरीका अनुसार बा.प.०६–००१ प ९९८१, बा.प्र ०३–००५प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाइकल समेत उक्त दुर्घटनामा परेका थिए ।


त्यस्तै, तत्काल गति बन्द गर्न नसकेका बा.प्र.०६–००१ प २२९४ र बा.प्र. ०३–००२ प ४१९८ नम्बरका स्कुटर पनि सोही दुर्घटनामा परेका थिए । दुई पाङ्ग्रे सवारी साधनमा सवार सबै जसो घाइते भएका छन् । 

२० जना घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको र अन्य ११ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये १२ जना भरतपुर अस्पतालमा, एक जना नयाँ मेडिकल कलेजमा र अन्य सात जना पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका सम्पूर्ण सवारी साधन घटना स्थलमै रहेको, बस चालक आशिष् परियार प्रहरीको नियन्त्रणमा रहेका छन् ।