• १२ मंसिर २०८१, बुधबार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चौथो पटक फौजदारी अभियोग

blog

अमेरिका, साउन ३१ गते । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । 

सोमवार पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँधली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ । यस वर्ष पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो । यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिण पूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । 

ट्रम्पविरुद्ध राज्यको र्याकेटियरिङ ऐन उल्लङ्घन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लङ्घन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो । अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो । फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ । 

ट्रम्पले सबै आरोप खारेज गर्दै आउनुभएको छ । फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उहाँका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गर्नुभएको थियो । अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुढी जिउलियानी, ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन इस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ । सिन्ह्वा