• १२ मंसिर २०८१, बुधबार

युवाको अगुवाइमा दिगो विकास

blog

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘दिगो विश्वका लागि सिपयुक्त युवा’ भन्ने मूल नारा तय ग-यो । यो नाराको भाव यदि विश्वलाई दिगो बनाउने हो भने युवालाई सिपयुक्त र दक्ष बनाउनु पर्छ भन्ने हो । अझ युवाका लागि हरित सिप (ग्रिन स्किल्स) अर्थात् वातावरणमैत्री सिपको विकास गर्नुपर्ने यस वर्षको युवा दिवसको मुख्य कुरो हो भनेर बुझ्न सकिन्छ । 

राष्ट्रसङ्घले दिगो विकास एजेन्डा लागु गर्न आगामी १४ वर्षका लागि ‘युवाको नेतृत्वमा दिगो विकास’ भन्ने दीर्घकालीन नारासमेत तय गरेको छ । युवासँग सहकार्य तथा युवाको सहभागितामा ‘एजेन्डा–२०३०’ कार्यान्वयन गर्ने उद्देश्यले यस्तो नारा तय गरिएको हो । आउँदो पुस्तालाई गरिबीबाट मुक्ति दिलाउने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेतृत्व लिन सक्ने बनाउने संयुक्त राष्ट्रसङ्घको उद्देश्य देखिन्छ ।

विश्व अहिले हरित सङ्क्रमणकाल (ग्रिन ट्रान्जिसन) मा गुज्रिरहेको छ । दिगो वातावरणमैत्री र जलवायुमैत्री विश्व निर्माण गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । यसका कारण दिगो विकास लक्ष्यमा पुग्न समस्या सिर्जना भइरहेको छ । यसको मुख्य समस्या भनेको विश्वका नागरिकमा हरित सिप (ग्रिन स्किल्स) नहुनु हो । हरित सिप भन्नाले दिगो विकास, जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी ज्ञान, क्षमता, मूल्य–मान्यता र प्रवृत्तिको विकास हुनु हो ।  

अहिले विश्वमै दिगो विकासबारे कम चासो दिइनु वा त्यसको महत्व नबुझ्नु चुनौती बनेको छ, जसले गर्दा क्षमतावान् र सक्षम समाज निर्माण हुन सकेन । पछिल्लो समयमा प्रविधिको विकास पनि दिगो विकास तथा वातवरणमैत्री समाज निर्माणमा बाधक बन्दै आयो । प्रविधिको प्रयोगले दिगो विकास लक्ष्य हासिल गर्नमा सकारात्मकभन्दा पनि नकारात्मक भूमिका निर्वाह गरेको देखियो । अब प्रविधिलाई पनि वातावरणमैत्री तथा दिगो विकासका लागि उपयोग गर्नुपर्ने अवस्था आएको छ, जुन पछिल्लो समयमा विश्वभर चुनौतीका रूपमा देखापरेको छ ।

संयुक्त राष्ट्रसङ्घ तथा अन्य निकायले आयोजना गरेका विश्व मञ्च, सम्मेलन तथा अनुसन्धानले अहिलेको अवस्थामा दिगो विकास लक्ष्यमा पुग्न समस्या सिर्जना गर्ने क्षेत्र वा विषयवस्तुको पहिचान गरेका छन्, जसमध्ये जलवायु परिवर्तन तथा वातावरणीय विनाशलाई प्रमुख चुनौतीका रूपमा लिइएको छ । राष्ट्रसङ्घले अहिलेको अवस्थालाई हरित सङ्क्रमण भनेर घोषणा गरेको छ । आधुनिक विकासले निम्त्याएको समस्या र दिगो वातावरण परिवर्तनमा नकारात्मक असर देखिएको छ, जसले अहिलेको विकास, उत्पादन, औद्योगिकीकरण र मानवीय व्यवहारलाई कसरी परिवर्तन गर्ने भन्ने कुरा ठुलो चुनौती बनेर उभिएको छ । राष्ट्रसङ्घले दिगो विकासका लागि मुख्य तीन कार्यलाई प्राथमिकतामा राखेको छ । 

पहिलो, व्यवसाय र उद्योग तथा कलकारखानालाई दिगो विकासका लागि आवश्यक सिपको स्तर वृद्धि गर्नु पर्छ । साथै सम्बन्धित क्षेत्र वा निकायले आफ्नो योग्यता तथा क्षमता वातावरण अनुकूलित वृद्धि गर्नु जरुरी छ । उत्पादन गरिने वस्तुहरू, कामदारको सिप विकास तथा प्रयोग गरिने प्रविधि वातावरणमैत्री हुनु पर्छ, जसले दिगो विकासलाई सहयोग गर्छ । जलवायु परिवर्तनको असर न्यूनीकरणमा मद्दत पुग्छ । विशेष गरी उद्योगी, कलकारखाना, निर्माण कम्पनी, बहुराष्ट्रिय कम्पनी र प्रविधि उत्पादन गर्ने निकायले यसलाई महत्व र प्राथमिकताका साथ लागु गर्नु पर्छ । 

दोस्रो, अब हुने नयाँ क्रियाकलाप दिगो आर्थिक विकास सिर्जना गर्ने खालका हुनु पर्छ । विश्वका सरकार, निजी क्षेत्र, नागरिक समाज तथा आमनागरिकले गर्ने क्रियाकलाप वातावरणमैत्री हुनु पर्छ । यसले हरित काम सिर्जना गर्नमा भूमिका निर्वाह गर्नु पर्छ । यसका लागि विशेष गरी अन्य पुस्तासँगै युवा पुस्तालाई ज्ञान, सिप तथा व्यवहारमा परिवर्तन आउने गरी दक्षता र सिपको विकास गरिनु पर्छ । 

तेस्रो, हाल कायम रहेको विकासको संरचनागत परिवर्तन गरी परिणामामुखी दिगो अर्थतन्त्र निर्माण गरिनु पर्छ । दिगो अर्थतन्त्रसँगै मजदुरको वृत्ति विकासमा जोड नदिएसम्म लक्ष्यमा पुग्न सकिँदैन । राज्य निर्माण गर्ने कानुन जसमा उच्चतम मापदण्ड तय गरी उद्योग, कलकारखाना तथा समुदायको विकासका लागि आधार तय गर्नु पर्छ । जबसम्म न्यूनतम मापदण्ड तय गरिँदैन, तबसम्म दिगो विश्वको लक्ष्यमा पुग्न सकिँदैन । साथै कम कार्बन उत्सर्जन गर्ने, अर्थतन्त्रमा प्रभाव नपर्ने गरी आर्थिक क्रियाकलापलाई रूपान्तरण तथा परिवर्तन गर्न नसके दिगो विकासको लक्ष्य प्राप्तिमा कठिनाइ उत्पन्न हुने छ । 

वर्तमान र भविष्य युवासँग जोडिएको छ । आधुनिक विकासले युवाको वर्तमान र भविष्यलाई असर गर्दै गइरहेको छ । बेलैमा विश्वभरका सरकारले युवालाई दिगो विकासका लागि क्षमता अभिवृद्धि गरी सिप युक्त र दक्षतायुक्त बनाउन नसके भविष्यमा अझ धेरै ठुला समस्या देखा पर्नेछन् । अहिले संयुक्त राष्ट्रसङ्घले भविष्यका लागि सिप र हरित काम (ग्रिन जब)का लागि सिप भन्ने नारा दिएर विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । सरकारलाई पनि सोही अनुसार आफ्ना नीति, कानुन र कार्यक्रम तय गर्न आग्रह गरिरहेको छ ।

दिगो उत्पादनका लागि नयाँ बजार र रोजगारीका नयाँ अवसरमा लगानी बढाउनु पर्छ, जसले समाजका सबै व्यक्तिको वर्तमान र भविष्य सुनिश्चित गर्ने छ । सँगसँगै स्रोत परिचालन, ऊर्जाको प्रभावकारिता, दिगो पूर्वाधार निर्माण र न्यूनतम सेवामा युवाको सहजै पहँुच बढाउनु पर्छ । उत्तम रोजगारी र जीवन जिउनका लागि सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ । नेपालमा राजनीतिक तथा आर्थिक वृद्धिका लागि युवालाई नेतृत्व दिनु पर्छ ।

सरकारले बनाउने नीति नियम युवामैत्री हुन सकेका छैनन् । भएका नीति तथा ऐन कानुन पनि प्रभावकारी रूपमा लागु हुन सकिरहेका छैनन् । वर्तमान कानुन तथा राज्यको संरचनाले युवा–युवाबिच असमनता तथा विभेद सिर्जना गरिरहेको छ । देशमा दुईथरी जनशक्ति उत्पादन भइरहेको छ । सँगै युवालाई सहभागी भन्दा पनि परिचालनको नीति लिइएको छ । यो समस्या विश्वभरका सरकारमा पनि देखापरेको छ । जबसम्म युवामैत्री कानुन निर्माण र युवाको नेतृत्व हुँदैन, तबसम्म दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । 

मानव स्रोतका हिसाबले नेपाल यतिबेला अहिलेसम्मकै समृद्ध अवस्थामा छ । यो सुर्वण अवसर उपयोग भएन भने सधैँका लागि गुम्ने छ । यसलाई सम्बोधन गर्न युवा शक्तिलाई सम्पत्तिका रूपमा लिएर उचित व्यवस्थापन गर्नेतिर अग्रसर हुनु पर्छ । युवाका लागि १०, २० तथा ४० वर्षे योजना तर्र्जुमा गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ । रोजगारी सिर्जनाका लागि रोजगार बोर्डको गठन गर्नु अत्यावश्यक छ । सरकारले युवा कार्यक्रम तथा विभिन्न सिपमूलक तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत गरी रोजगार बोर्डको माध्यमबाट लागु गर्नु पर्छ । 

राज्यको स्रोतसाधनको उचित वितरण, योजना तर्जुमा र युवालाई उचित स्थान उपलब्ध गराउनु पर्छ । तत्कालका लागि सरकारका आगामी कार्यक्रम तथा योजना कृषि तथा पर्यटनलाई आधार बनाएर युवालाई सहभागी गराउनु पर्छ । सँगसगै अर्को महìवपूर्ण कुरा युवालाई राज्यका हरेक निकायमा उचित सहभागिता दिलाई नेतृत्वदायी भूमिका दिन सके समस्याको सहज रूपमा समाधान हुन सक्छ । 

सरकार तथा विकास साझेदारले युवा केन्द्रित कार्यक्रममा लगानी गर्दा विवेकी भएर यो जनसाङ्ख्यिक समूहबाट यथाशीघ्र लाभ लिनेबारे सोच्नु पर्छ। किनकि सधैँ यस्तै जनसाङ्ख्यिक अवस्था रहँदैन। यसका लागि युवाका सङ्घसंस्था र सञ्जालसँग राम्रो समन्वय, राजनीतिक प्रक्रिया र राजनीतिक दलमा युवा आकाङ्क्षाको बढी प्रतिनिधित्व, सार्वजनिक प्रकृतिका समस्या समाधान गर्न औपचारिक रूपमा युवा सहभागिता खुला गर्न आवश्यक छ। नेपाल सरकारले युवाका लागि विशेष कार्यक्रम ल्याउन पहल गर्नु पर्छ । युवालाई बोझका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गरी युवा राष्ट्र निर्माणका पहरेदार हुन् भन्ने मानसिकता विकास हुन अति जरुरी भइसकेको छ ।  

Author

लोकराज अवस्थी