• ४ पुस २०८१, बिहिबार

जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन

blog

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान र उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सार्वजनिक महत्त्वका विषयको दीर्घकालीन अर्थ हुन्छ । त्यस्ता विषयमा हामीले सबैभन्दा बढी ध्यान दिनु पर्छ । एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नुहुँदैन । त्यसतर्फ तपाईंहरूले ध्यान दिनूस् ।”

तीनकुने अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेकाले मुआब्जाका दीर्घकालीन समस्या गर्ने र तीनकुने जडीबुटी अन्डरपासको काम प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । उपत्यकाको सुकुम्बासी समस्या समाधानका गर्न भएका प्रयास र त्यसलाई निष्कर्षमा पु-याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन प्रधानमन्त्रीले जोड दिनुभयो । 

छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवको उपस्थिति थियो ।