काठमाडौं, साउन २९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’’ प्रधानमन्त्रीले आफूहरुसहि बाटो हिँडेको उल्लेख गर्नुहुँदै भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताउनुभयो ।
प्रधानमन्त्रीले आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतङ्क सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढङ्गले काम गर्नुछ ।’’
प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ ।’’
उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताउनुभयो । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उहाँको धारणा थियो । बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्ने बारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।