विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन २९ गते । लगातारको वर्षातले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा जोखिम बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको पानीको बहाव उच्च बढेपछि सदरमुकामवासीमा चिन्ता थपिदिएको छ ।
डोल्पाको सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको बहाव आइतबारबाट उच्च भएको हो । हामीलाई त रातभर निन्द्रा पनि लाग्दैन । कतिखेर बजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ सदरमुकाम निवासी दिलमाया केसीले भन्नुभयो ।
पूर्वी भागबाट पश्चिमतर्फ बगिरहेको भेरी नदीको स्वरूप हेर्दा पनि आङ्गै झसङ्ग हुने गरेको सञ्चारकर्मी लेखबहादुर बुढाले बताउनुभयो । भिरालो भएर बगिरहेको र भेरीको दुबैतर्फ दुनै बजार रहेकाले पनि जोखिम बढेको उहाँको भनाइ छ । भेरी नदिलाई नै अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएकाले पनि सदरमुकाम दुनै थप जोखिममा छ ।
प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले दुई दिनमा एक्कासि भेरी नदीको बहाव उच्च रहेकाले पनि सर्वसाधारणमा त्रास बढ्नु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भेरीको बहाव बढेको छ दुनै बजारको तटीय क्षेत्रमा केही कटान गरेको भए पनि खासै असर नगरेको तर वर्षात् कम नभई अझै बढ्न गई नदीको बहाव झनै बढेमा खतरा नहोला भनेर यसै भन्न सकिँदैन ।’’
दुनै बचाउ कार्यक्रमअन्तर्गत तीन वर्षअघि दुनै बजारको बीच भाग भएर बग्ने भेरी नदीको दुबैतर्फ मेसिनरी वाल निर्माण गरिएकाले जोखिम हुनबाट भने केही बचाएको उहाँको भनाइ छ ।
भेरीको बहाव उच्च बढेसँगै प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० लाई स्वीकृत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले विपद् तथा राहात सामग्री डोल्पासम्म ढुवानी गर्ने गरी प्रत्येक नगरपालिकाले एक लाख रुपियाँ र गाउँपालिकाले ५० हजारका दरले पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । विगतको तुलनामा यो वर्ष वर्षात् बढी भएकाले वर्षातले विभिन्न धनजनको क्षति पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर गरी सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहने निर्णय गरेको प्रजिअ जिल्ला समन्वय प्रमुख श्याम रोकायाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले सदरमुकाम भेरीको बहाव बढेको र विपद् जतिखेर पनि आइपर्ने भएकाले भेरीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले दिनको तीन पटक बजारमा माइकिङ गरी सजग हुन आग्रह गरिरहेको बताउनुभयो ।