• १२ मंसिर २०८१, बुधबार

डेङ्गु सङ्क्रमणमा नियन्त्रण फितलो

blog

कोरोना जस्तै फैलियो डेङ्गु भन्दै डेङ्गुको त्रासले दिउँसै मानिसहरू झुलभित्र बस्न र सुत्न थालेका छन् । हाल देशका धेरै जिल्लामा डेङ्गु सङक्रमण फैलिरहेको र बढ्दै छ । जेठको तेस्रो सातायता धरानमा मात्र परीक्षण गरिएकामा ६० प्रतिशतमा सङक्रमण र सङ्क्रमितमध्ये नौ जनाको ज्यान गइसकेको छ । विशेषत छोराछोरी विदेशमा भएका तथा आफू दीर्घरोगी भएकाहरू दिनभर नै झुलमा बसी राति बाहिर निस्केर दैनिक काम गर्ने, फेरी झुलमा सुत्ने गरेका छन् ।

सङ्क्रमण फैलिएपश्चात् झुल ५० प्रतिशत, प्यारासिटामोल, थर्माेमिटर, जीवनजलको व्यापार ४० प्रतिशतले ह्वात्तै बढेको छ, मूल्यभन्दा पनि पाउनु नै ठुलो भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १२८ देशका करिब तीन अर्ब ९७ करोड जनसङ्ख्या जोखिममा छन् । बर्सेनि पाँच करोडदेखि १० करोड बढीमा डेङ्गु सङ्क्रमण हुने गर्दछ । जसमा पाँच लाख बिरामीमा कडा प्रकृतिको डेङ्गु हेमोरेजिक फिबर वा रक्तश्रावजन्य डेङ्गु हुने गर्दछ । यस रोगले वार्षिक २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गर्दछ । वितेका दशकमा यस रोगको प्रभाव एसियाली मुलुकमा बढेको छ । 

डेङ्गु विषाणु 

 फलेवी विषाणु समूहमा पर्ने डेङ्गु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र सङ्क्रमणले डेङ्गु रोग लाग्दछ । मांसपेशी र हड्डीमा निकै पीडा हुने भएकाले लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिन्छ । डेङ्गु रोग तीन दिनमै नरम हुँदै जाने भएकोले यसलाई तीनदिने ज्वरो पनि भनिन्छ । 

सार्ने माध्यम–स्मार्ट लामखुट्टे

 दिउँसो सक्रिय र राति नआउने, आकार सानो, झट्ट नदेखिने र दिउँसोमा आउने भएकाले आवाज सुनिँदैन । प्याट्ट मार्दा रगत आउँदैन, कालो, फुस्रो धुलो जस्तो देखिन्छ । टोकेपछि शरीरमा चिलाए जस्तो हुने, मसिना बिबिरा आउने, केही समय नराम्ररी चिलाउने तथा कहिलेकाहीँ बिबिरा बढेर ठुला फोका पर्छन् । सफा पानीमा बढ्ने, फुल पार्ने गर्छ । छतमा राखेको ट्याङ्कीको पानीमा समेत लामखुट्टे पाइने भएकाले माथिल्लो तलामा उड्न सक्दैन भन्ने गलत हो । लामखुट्टे तीन हप्ता बाँच्ने र ट्रान्सभाइरलबाट सङ्क्रमित लामखट्टेले फुलमा पनि भाइरस सार्दछ । 

 प्रायः बिहान ७ देखि १० र साँझ ३ देखि ५ बजे बढी सक्रिय हुन्छन् । हुर्कन पाँच मिली जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । लामखुट्टे १० डिग्रीभन्दा कम र ४० डिग्रीभन्दा बढी तापक्रममा मर्ने भएकाले नेपालको तराईको तापक्रमको फरकताले तथा पहाडमा बढेको गर्मीले कुनै मौसममा लामखुट्टे निर्मूल हुने अवस्था देखिँदैन । दिउँसो मात्र टोक्ने यस लामखुट्टे अप्राकृतिक भाँडा, घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्याङ्की, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतल जस्ता अप्ठ्यारा ठाउँमा पाइने गर्दछ । सबैभन्दा खतरनाक त टायर हो, जहाँ हरेक पत्र पत्र वा तह तहमा पानी जम्छ । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भिआइपी लामखुट्टे पनि भनिन्छ तर लामखुट्टेबिना मानिसबाट मानिसमा डेङ्गु सर्दैन । 

 लक्षण 

शरीरमा भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षणहरू देखिन्छन् । ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेङ्गुको त्रिभुज हुन् । बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । आर्थिक सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग अत्यधिक पीडित हुन्छन् । गर्भवती, साना बच्चा र दोहोरिएर भएको सङ्क्रमणमा जटिल समस्या आउन सक्छ । 

चार प्रकारको डेङ्गु विषाणुको सङ्क्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्टयाउन नसकिने ज्वरो, डेङ्गु ज्वरो (डिएफ), डेङ्गु हेमोरेजिक ज्वरो (डिएचएफ) सँगै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक शक डेङ्गु शक सिन्ड्रोम (डिएसएस) प्रकारको हुन सक्छ । डिएफ र डिएचएफको पाँच प्रतिशतभन्दा कममा असामान्य लक्षण तथा चिह्नहरू देखिन्छन् । कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथी हुन सक्छ ।

 एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी, हाड, ढाड र जोर्नीहरू दुख्न थाल्छ । डेङ्गु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ । शरीरमा रातो बिबिरा, वाक्वाकी, बान्ता पनि यसका प्रमुख लक्षण हुन् । हाल अधिकांश सङ्क्रमितमा घाटीमा समस्या भई दुख्ने गरेको गुनासो छ । 

 मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिबिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउँछ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्दछ । डेङ्गु विषाणु सङ्क्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तश्रावका लक्षण देखा पर्दछन्, जसलाई डिएचएफ भनिन्छ । 

रक्तश्राव भई रक्तश्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ । जीवन्त तन्तुमा असर परी डिएसएस–शक हुन सक्छ । 

 तारन्तार बान्ता हुने, अत्यधिक पेटको दुखाई, नाक, गिजा वा शरीरका अन्य ठाउँबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन, श्वासप्रश्वासमा तीव्रता वा कठिनाइ उपरोक्त पाँच लक्षण देखिए जटिलतातिर गइरहेको हुन सक्ने भएकाले तुरुन्त चिकित्सक वा अस्पताल जानु पर्दछ । 

 पोस्ट डेङ्गुको समस्या पनि उस्तै 

 १५ देखि २५ प्रतिशतमा पोस्ट डेङ्गु देखिने गरेको छ । अस्पताल भर्ना भएर निको भएकामा सिन्ड्रोम बढी छ । टाउको दुख्ने, खाना नरुच्ने, ज्वरो, रिङ्गटा, कमजोरी, थकित, निद्रा नलाग्ने, मुटु ढुक ढुक हुने, निद्रा नलाग्ने, भुल्ने, ध्यान दिन नसक्ने, स्याँस्याँ हुने जस्ता विभिन्न समस्या शरीर काम्ने लक्षण पनि देखिँदैछन् । दुईदेखि तीन महिनापछि कपाल झर्ने रोग देखिन्छ । झरेका कपाल तीनदेखि ६ महिनामा सामान्य अवस्थामा फर्किन्छन् । त्यस्तै छाला चिलाउने, सास फेर्न गाह्रो हुने, खुट्टाका मांसपेसी दुख्ने गरेको विदेशका अध्ययनमा पनि देखिन्छन् । 

 व्यवस्थापन 

डेङ्गु विषाणुको सङ्क्रमणबाट हुने रोग भएकोले रामवाण वा जादुको छडी झै तुरुन्तै ठिक पार्ने औषधी हुँदैन । यसको उपचार लक्षणको आधारमा गरिन्छ । एस्प्रिन र बु्रफिन जस्ता औषधी सेवन गर्नु हुँदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर वास्तविक र छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ । 

सङ्क्रमण टाइप एकबाट दुईमा जाने, मृत्यु कम हुने क्लासिकबाट बढी मृत्यु हुने हेमोरेजिक र शक डेङ्गुमा जाने, मूलकका ठुला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चारको अभाव आदिले समयमै सजग हुन जरुरी छ ।  डेङ्गुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहाँ छैन । खोपले डेङ्गुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ ।  डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न वैशाख १५ गतेदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको थियो । सबैको प्रयासले मात्र डेङ्गु नियन्त्रण गर्न सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैको सहभागिता, सहजीकरण एवं समन्वयको जरुरत छ ।

 अन्त्यमा, सङ्क्रमण एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा विकास हुँदै गएको छ । राज्य संयन्त्रको प्रभावकारी नीति र कार्यक्रम अपरिहार्य छ । हरेक परिवारलाई हरेक शनिबार १० मिनेट समय छुट्टयाएर आफ्नो घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोजौँ र नष्ट गरौँ अभियान सञ्चालन गर्न सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहलाई सङ्घीय मन्त्रालयमार्फत मार्गदर्शन गर्न तथा डेङ्गुबाट बच्न तथा जोखिम कम गर्न कर्मचारीलाई कार्यस्थल वरिपरि निरन्तर सफा राख्ने र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य छ ।

  (केन्द्रीय कारागार अस्पतालका निर्देशक डा. बुढाथोकी नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।) 

   

Author

डा. प्रकाश बुढाथोकी