भर्खरै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा थुप्रै सवाल उठाइएको छ । पाँच दिनसम्म चलेको बैठकमा पार्टी र आन्दोलन बनाउने सन्दर्भमा विभिन्न कोणबाट छलफल भएको थियो । प्रायः अधिकांश सदस्यको मर्म र भावना भनेको पार्टी आन्दोलन कमजोर भयो भन्ने नै थियो । यसलाई हामी सबै रूपान्तरण भएर सुदृढ गर्नु पर्दछ । हामी सबै बिग्रियौँ नेता पनि बिग्रिएका छन्, भन्नेमा सबैको एकमत देखिन्थ्यो । हाम्रो उठबस, जीवनशैली र कार्यशैली बिग्रियो । पद, शक्ति, पैसा, परिवार, आफन्त, साथीभाइ र चिनजानवादी भयौँ । पार्टी आन्दोलनको आधारभूत दृष्टिकोणबाट हामी धेरै टाढा पुगिसक्यौँ । विचारभन्दा चोचो–मोचो र टालटुले राजनीतिमा लिप्त भयौँ भन्ने थियो, जुन वस्तुगत सच्चाइ पनि हो ।
वस्तुतः बैठक समीक्षात्मक भएको छ । विगतदेखि नै हाम्रो समस्या भनेको समीक्षा गरेर कार्यान्वयनमा जान नसक्नुमा रहेको छ । यसमा पार्टी लाइन र संसदीय कार्यदिशाबिचको बेमेलले पनि घर गरेको छ । जीवन्त पार्टीले अतीतको समीक्षा मात्र गर्दैन यसलाई दृढतापूर्वक समातेर अनि कमीजोरीलाई आत्मसात् गर्दै अघि बढ्ने कार्यक्रमिक गन्तव्यको ठोस खाका तय गर्दछ । विगतको बैठकमा जस्तै यसपालिको बैठकलाई पनि ऐतिहासिक भनिएको छ । यद्यपि बैठकले निर्णय गर्ने तर कार्यान्वयन नहुने समस्या नयाँ होइन । यसरी बैठकको प्रतिबद्धता व्यवहारतः लागु नहुनुपछाडिको कारण पनि यस आलेखमा खोज्ने प्रयास गरिएको छ ।
बैठकको निर्णय
बैठक बसेपछि केही न केही नयाँ निर्णय गरिन्छ । यो बैठकको आधारभूत नियम हो । सोही अनुरूप माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि दूरगामी महत्व राख्ने थुप्रै निर्णय गरेको छ । यस अन्तर्गत आलोचना र
आत्मालोचनाको स्पिरिटलाई आत्मसात् गर्दै रूपान्तरणको सङ्कल्प गरेको छ । यद्यपि यो आन्दोलनको राप, ताप र चापमा मात्र पाच्य हुन्छ ।
अरू सामान्य अवस्थामा आलोचना स्वीकार गरिँदैन अनि आत्मालोचना गर्न मनले मान्दै मान्दैन । यो शाश्वत नियम हो । विचार र विधिलाई मन र मुटुका रूपमा आत्मसात् गर्दै विधान सम्मेलनद्वारा विधान निर्माण र विशेष महाधिवेशनमार्फत विचार संश्लेषण गर्ने निर्णय गरेको छ । योसँगै विभिाजित सबै कम्युनिस्ट धारालाई ध्रुवीकरण गर्दै समाजवादी धारा निर्माणका लागि विशेष पहल गर्ने पनि निर्णय गरेको छ । जनसम्बन्ध सुदृढ र विस्तार गर्न जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८० सञ्चालन गर्ने निर्णय गरेको छ । वडास्तरबाट देशैभर एकसाथ उद्घाटन हुने यो अभियान तीन महिनासम्म चल्ने छ । यो अभियानको मूल लक्ष्य भनेको जनसम्बन्ध नयाँ ढङ्गले सृदृढ गर्दै रूपान्तरित पार्टी निर्माण रहेको छ ।
यस अतिरिक्त पदाधिकारीको जिम्मेवारी पुनर्विभाजन पनि गरिएको छ । निरन्तर पाँच दिनसम्म चलेको बैठक पार्टी अध्यक्ष कमरेड प्रचण्डको सारगर्भित संश्लेषित मन्तव्यसहित समापन भएको छ । यद्यपि बैठक वा महाधिवेशनको समापनमा जागेको उत्साह र स्पिरिट धेरै लामो समय टिक्न नसकेको विगत तितो ऐतिहासिक नजिर बेहोरेको हामी सबैलाई यो बैठकले भावी दिनमा कस्तो परिणाम देला, यसै भन्न सकिन्न । मूलतः बैठक राम्रो निर्णय गर्दै समापन भएको भने साँचो हो । यसमा तत्काल सकारात्मक अपेक्षा राख्नु नै वस्तुवादी हुन्छ ।
कार्यान्वयन
बैठक वस्ने र निर्णय गर्नु निरन्तर औपचारिक प्रक्रिया हुन् । सामन्यतः औपचारिक वा अनौपचारिक बैठकहरू भई नै रहेका हुन्छन् । यो औसत नियमित प्रक्रिया हुन् तर बैठक वा महाधिवेशन औसत र औपचारिकतामा बस्नु र यसले गर्ने निर्णयको कार्यान्वयनले नितान्त भिन्न महत्व बोकेको हुन्छ ।
अर्थात् बैठक बस्नु र निर्णयहरू गर्नुभन्दा त्यसलाई जीवन–व्यवहारमा कार्र्यान्वयन गर्नु मुख्य सवाल हो । भर्खरै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले थुप्रै राम्रा राम्रा र दूरगामी राजनीतिक महत्व बोकेका ऐतिहासिक निर्णय गरेको देखिन्छ तर मूलभूत पक्ष भनेको निर्णय भन्दा पनि कार्यान्वयन पक्षको अन्तर्यमा हुन्छ । किनभने विगतमा पनि यस्ता थुप्रै निर्णय र घोषणा गरिएको थियो तर त्यसको कार्यान्वयन धेरै कठिन भएको देखिन्छ । यही पृष्ठभूमिमा पुनः यो बैठकबाट गरिएका निर्णयहरू कामयावी हुने कुरामा आशङ्का गर्नु स्वाभाविक हुन्छ । प्रत्येक बैठकका निर्णयहरू कार्यान्वयन हुँदैन भने किन भएन भनेर तथ्य खोज्नुपर्ने पनि हुन्छ । तर हामी कार्यान्वयन किन भएन भनेर तथ्य कारण पहिल्याउनेतर्फ जाने संस्कृति छैन । निर्णय गर्ने अनि माइन्युटलाई दराजमा थन्क्याउने जस्तो भएको छ । यद्यपि सदिच्छा राखौँ कि यसपालिको बैठकका निर्णयहरू अक्षरश जीवन–व्यवहारमा लागु हुने छ ।
माओवाद र संसदीय कार्यदिशा
सारतः सही राजनीतिक कार्यदिशा विन्यास गरियो भने नभएको चिज पनि प्राप्त हुन्छ र गलत विन्यास गरियो भने भएको पनि गुम्दछ । यो कमरेड माओले कुनै लहड र सनकमा भन्नुभएको थिएन । यसको अन्तर्यमा राजनीतिक मर्मको सच्चाइ अन्तरनिहित देखिन्छ । समाजलाई राजनीतिक रूपमा अग्रगामी नेतृत्व गरेर अघि बढाउनु छ भने सही र वस्तुवादी कार्यदिशा विन्यास अनिवार्य सर्त हुन्छ । कार्यदिशा गलत चयन गरियो भने त्यसले अस्तव्यस्तता, अस्थिरता र द्विविधामा फसाइदिन्छ ।
पार्टी नचाहँदा नचाहँदै पनि लगभग पतनको अवस्थामा पुग्दछ । अग्रगामी पश्चगामी जस्तो अनि पश्चगामी अग्रगामी जस्तो हुन पुग्दछ । अर्थात् रूपहरू कुरूप बन्दछ । यही मेसोमा सही राजनीतिक एजेन्डाहरू गलत साबित हुँदै जान्छ । समाज अनिर्णय र गोलचक्करको बन्दी बन्न पुग्दछ । तब राम्रो र अग्रगामी आयामहरू सबै यही द्विविधा र अनिर्णयको नकारात्मक रापमा ओझेल पर्दै जान्छ । यो कार्यदिशा विन्यासको सार्वभौमिक पक्ष हो । त्यसैले सिद्धान्ततः र व्यवहारतः राजनीतिक विचार र कार्यदिशाबिच मेल हुनु अनिवार्य हुन्छ । बेमेलपूर्ण कार्यदिशाले समाजको सही नेतृत्व गर्दै अग्रगामी निकास पहिल्याउन सक्दैन । तब माओवादी राजनीतिक दृष्टिकोण र संसदवादी कार्यदिशाबिच सैद्धान्तिक, राजनीतिक, वैचारिक रूपमा तादातम्यता मिल्छ कि मिल्दैन ? यसमा तपाईं हामी राजनीतिक रूपमा स्पष्ट हुनु जरुरी छ ।
वस्तुतः माओवाद र संसद्वादी कार्यदिशाबिच परिपूरक र सहयोगी सम्बन्ध हुन सक्दैन । अर्थात् माओवादी राजनीतिले संसद्वादी कार्यदिशा स्वीकार गर्दैन भने संसद्वादी कार्यदिशाले माओवाद चिन्दैन । यसो भएपछि कि त माओवादविनाको संसद्वाद हावी हुन्छ कि त संसद्वादबिनाको माओवाद हावी हुनुपर्ने हुन्छ । आजको हाम्रो राष्ट्रिय राजनीतिक परिदृश्यलाई नियाल्दा माओवादलाई नचिन्ने संसदवाद हावी भइरहेको छ । नचिन्ने र नमिल्नेसँग सहयात्रा र सहकार्य गरिरहेका छौँ । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा दुवैलाई समायोजन गरेर लान खोज्नु कि त बनिबनाउ कल्पना मात्र हुन्छ कि त गोलचक्करमा केही समय अल्मलिने वा घुम्ने रणनीति मात्र हुन्छ ।
आज राष्ट्रिय राजनीतिका तमाम अग्रगामी एजेन्डाको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र अरू संसद्वादी पार्टी र नेताहरू जस्तै फिका हुँदै गएका छन् । यो कार्यदिशाकै गम्भीर उपज हो । वस्तुतः सैद्धान्तिक प्रतिबद्धता, त्याग, बलिदान, जीवनशैली, कार्यशैली र उठबस सबै कार्यदिशाले नै निर्धारण गर्दछ । आज माओवादीले पनि अरू पार्टी र नेताहरूले जस्तै जीवन व्यवहार अङ्गीकार गर्नु भनेको रहरभन्दा पनि संसदीय कार्यदिशाद्वारा स्वतः निर्देशित कर्मकाण्डहरू हुन् ।
वास्तवमा राजनीतिक दृष्टिकोण र कार्यदिशागत तादात्म्य नमिले पछि राजनीतिक जीवन व्यवहार अस्वाभाविक हुँदै जान्छ । स्कुलिङ एकातिर व्यवहार अर्कोतिर हुन पुग्दछ, जुन आज माओवादीले भोगिरहेको छ । अर्थात् सिद्धान्त र व्यवहार मिल्दैन । वास्तवमा माओवाद र संसद्वाद जताबाट नापे पनि मिल्दैन ।
कसैको आंशिक स्वार्थमा मिले पनि समग्र राजनीतिक जीवन–व्यवहारको कसीमा एकै ठाउँ हुन सक्दैन । यी दुवै अन्तरविरोधी पद्धतिहरू हुन् । माओवादको दृष्टिकोणीय मूल्यमान्यता र संसद्वादको दृष्टिकोणीय अवधारणा सारभूत रूपमै भिन्न हुन्छ । अर्थात् माओवाद उत्तर हो भने संसद्वाद दक्षिण हो । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा यी दुवैलाई एउटै राजनीतिक कार्यदिशामा घोलघाल पार्न खोज्नु भनेको यस्तै अकर्मण्यता, अनिर्णय, अस्तव्यस्तता र अस्थिरताको गोलचक्करमा फस्नु र फसाउनु मात्र हुन्छ । यस्तो अन्तरविरोधी कार्यदिशा अङ्गीकार गरेर राजनीतिक तथा पार्टी आन्दोलन अघि बढाउन असाध्यै कठिन हुन्छ, जुन तपाईं हामीले प्रत्यक्ष जीवनमा भोगिरहेका छौँ ।
निष्कर्ष
हालै सम्पन्न माओवादी केन्द्रको बैठकले दूरगामी महत्व राख्ने थुप्रै निर्णय गरेको छ । यो सुखद पक्ष हो । यो वा त्यो धेरै निर्णय गर्ने तर व्यावहारिक कार्यान्वयन भने शून्यमा रहने नेपाली संस्कार पनि नयाँ होइन । हरेक बैठक वा महाधिवेशनका निर्णयको कार्यान्वयन कहिल्यै पनि पूरा भएको देखिँदैन । यसको पछाडिको वस्तुगत कारण भनेको पार्टी पङ्क्ति चलायमान नगर्नु र इच्छाशक्ति नहुनु मात्र होइन । निर्णय कार्यान्वयन भइरहेको छैन भन्ने न्यूनतम ज्ञान नभएर पनि होइन । यो गर्न जरुरी छ त्यो गर्न झन् जरुरी छ भन्ने सचेतना र गाम्भीर्य सबैमा छ । तर पनि कार्यान्वयन हुँदैन किन ?
यसको मूलभूत कारण भनेको माओवादी राजनीतिक दृष्टिकोण र संसद्वादी कार्यदिशाबिचको तादात्म्य नमिल्नु नै हो । राजनीतिक दृष्टिकोण र कार्यदिशा नमिलेपछि राजनीतिले गति लिन सक्दैन । गति नलिनु भनेको चरम अकर्मण्यता र अनिर्णयको चक्रव्यूहमा फस्नु हो । यसको वस्तुवादी र वैज्ञानिक समाधन भनेको कि त माओवादीले संसद्वादी कार्यदिशा त्यागेर न्यूनतम राजनीतिक प्रस्थापना अनुरूपको राजनीतिक कार्यदिशा विन्यास गर्नु पर्दछ । कि त माओवाद त्यागेर निरपेक्ष संसदवादी कार्यदिशा अपनाउनु पर्दछ ।
त्यसैले माओवादी आन्दोलनको पुनर्संगठनबारे गम्भीर बहस , छलफल सञ्चालन गरौँ यसले बिग्रेको पार्टी, सङ्गठन, जीवनशैली, कार्यशैली र उठबस स्वतः रूपान्तरण हुने छ । किनभने प्राविधिक, साङ्गठनिक, जीवनशैली र कार्यशैली राजनीतिक कार्यदिशाले स्वतः निर्धारण गर्ने सवालहरू हुन् ।