• १२ मंसिर २०८१, बुधबार

मानवमैत्री संरक्षण

blog

बाघको सङ्ख्या बढ्दै गएको र बाघ दोब्बर गर्ने लक्ष्य नेपालले बेलैमा पूरा गरिसकेको प्रसङ्ग गौरवपूर्वक उल्लेख गरेर देशैभर विश्व बाघ दिवस (साउन १४ गते) मनाएको १० दिन पनि नबित्दै साउन २१ गते चितवनको खैरहनीमा मानव बस्तीमा बाघ छिरेर ३५ वर्षीय अनिल तामाङलाई मा-यो । 

बाघ दिवसभन्दा एक साताअघि साउन ८ गते दिउँसो चितवनको कोटेनीमा माछा मार्न गएका २६ वर्षीय आशबहादुर बोटेलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै ज्यान गयो । 

१३ दिनभित्र मानव बस्तीमा पसेर बाघले मान्छे मारेको यी दुई घटना चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको सङ्ख्या बढेपछि आफ्नै बस्तीमा मानिस असुरक्षित हुँदै गइरहेको परिदृश्यका सूचक हुन् । 

सन् २०१०, जतिबेला नेपालभर जम्मा १२१ बाघ थिए, त्यतिबेला मानव बस्तीमा दिउँसै बाघ छिरेर मान्छे मारेका घटना विरलै हुन्थे । मान्छेको बासस्थानमा बाघ आएर होइन कि बाघको बासस्थान वन, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र छेउछाउ मानिस पुग्दा आक्रमणका घटना हुने गर्थे । 

त्यतिबेला रसियाको सेन्ट पिटसवर्गमा भएको संसारका बाघ पाइने १३ देशको सम्मेलनमा नेपालले आफ्ना १२१ बाघ सन् २०२२ सम्म दोब्बर बनाउने प्रतिबद्धता जनायो । वन, राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्रलगायत जताततै वन्यजन्तुको चोरीशिकारी मौलाएको तत्कालीन अवस्थामा बाघको सङ्ख्या बढाउनु नै चुनौतीपूर्ण थियो । त्यसबेला बाघ दोब्बर भएपछि, आफ्नो बासस्थान साँघुरो भएपछि, बाहिर निस्केर मानव बस्तीमा बाघ पुग्ला र मानव जीवनमै असर पार्ला भन्ने भविष्यको सोच ओझेलमै थियो । 

फलस्वरूप सरकारका सबै काम बाघ र बाघका आहारा प्रजाति संरक्षणमा केन्द्रित हुँदा बाघको सङ्ख्या सन् २०२२ मा नै दोब्बर त के झन्डै तेब्बरले बढेर ३५५ पुग्यो । यसको मतलब हिजो बाघको आक्रमण जहाँ कहिलेकाहीँ हुन्थ्यो, त्यहाँ त्यस्ता घटना आम हुने खतरा पनि बढ्यो । रातिको समयमा बस्तीमा बाघ पस्ने गरेकोमा दिउँसै बाघ बस्तीमा देखिने जोखिम पनि बढ्यो । 

संरक्षणकर्मीका अनुसार बाघ अरू जनावर जस्तो थोरै ठाउँमा खुम्चिएर बस्ने प्राणी होइन । एउटा भाले बाघ बसेको ठाउँमा अर्को भाले बाघ बस्न सक्दैन । लडेर अर्को बाघलाई जितेमा त्यो ठाउँबाट हारेको बाघलाई लखेट्छ भने आफैँ हारेमा उक्त ठाउँ छोड्नुको विकल्प हुन्न । लडाइँपछि आवेगमा वन क्षेत्रबाट निस्केको बाघ नजिकको बस्तीमा पुग्छ र जसलाई भेट्यो उसलाई आक्रमण गर्छ । बाघको सङ्ख्या बढेसँगै जङ्गलमा बाघबिचको लडाइँ बढ्नु स्वाभाविक हो । बाघको सङ्ख्या चितवन राष्ट्रिय निकुञ्जसँगै सबै निकुञ्ज र आरक्षमा बढेसँगै पछिल्ला वर्षमा दिनदहाडै बाघ बस्तीमा पसेर मानिसलाई मारेका वा क्षति पु-याएका घटनाका समाचार पर्सा वन्यजन्तु आरक्षदेखि शुक्लाफाँटासम्मबाटै आइरहेका छन् । 

सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा सन् २०१० यता १२ वर्षमा २३४ बाघ थपिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा वन्यजन्तु आरक्षमा ४१ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ३६ बाघ छन् । 

नेपालमा सन् २०१० को तुलनामा बाघको सङ्ख्या झन्डै तेब्बर बढ्दै गर्दा भारतमा पनि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालमा सन् २०१० देखि २०२२ सम्म बाघको सङ्ख्यामा १९३ प्रतिशतले वृद्धि हुँदै गर्दा भारतमा सोही अवधिमा बाघको सङ्ख्यामा १२४ प्रतिशतले बढोत्तरी भएको छ । भारतमा सन् २०१० मा १४११ बाघ रहेकोमा सन् २०२२ मा त्यो सङ्ख्या बढेर ३१६७ पुगेको छ । 

नेपाल र भारतको सिमानामा दुवैतिर वन, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र भएको भेगमा यताका बाघ उता जाने र उताका बाघ यता आउने क्रम बाघको सङ्ख्या दुवैतिर बढ्दा निश्चय पनि बढेको हुनु पर्छ । स्वतन्त्र रूपमा विचरण गर्ने जनावरलाई दुवैतिर जङ्गल भएको अन्तर्राष्ट्रिय सिमानाले रोक्दैन । नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्षसँगै भारतको पीलीभीत बाघ आरक्ष, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको पारिपट्टि दुधवा राष्ट्रिय निकुञ्ज, कतर्नियाघाट र सुहेल्वा वन्यजन्तु स्यान्क्चुरी, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै जोडिएको भारतको वाल्मीकि बाघ आरक्ष र सोहागी बर्वा वन्यजन्तु स्यान्क्चुरीमा बाघ ओहोरदोहोर गरिरहन्छन् । दुवैतर्फका यी बाघका वासस्थानलाई बुम–ब्रह्मदेव, शुक्लाफाँटा–लग्गा–बग्गा–तातारगञ्ज–नवादिया, लालझाडी, बसन्ता र खाता करिडोरले जोड्ने काम गरेका छन् ।

वारिपारि दुवै देशमा बाघको सङ्ख्या बढेपछि बाघ पाइने क्षेत्र नजिकका मानव बस्तीमा दिउँसै हिँडडुल गर्न पनि डराउन पर्ने अवस्था आएको पछिल्लो समयमा बढेका बाघको आक्रमणका घटनाले देखाएको छ । चाहे त्यो चितवनको घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न गएकी ५५ वर्षीय मङ्गली बोटेको मृत्यु होस् या गाई चराउन घरछेउको चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी किनारमा गएको बेला बाघको आक्रमणबाट भएको आशबहादुर बोटेको मृत्यु होस् । 

विज्ञहरूका अनुसार एउटा बाघलाई हिँडडुल गर्न झन्डै ४० किलोमिटरको क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि आरक्ष, निकुञ्ज, वन, संरक्षित क्षेत्रको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्तीसम्म पुग्ने गर्छन् । निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रमा सङ्ख्या बढेसँगै भित्र विचरण स्थान अभावमा बाघले मध्यवर्ती क्षेत्रलाई बासस्थान बनाउँदा मानव–वन्यजन्तु आक्रमण बढिरहेको छ । 

चितवनजस्तै बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणको समस्या देखिन्छ । चाडबाडको बेला टपरी गाँस्न पात टिप्न वन पसेका, घाँस काट्ने, दाउरा बटुल्ने, निगुरो टिप्ने, च्याउ टिप्ने, माछा मार्नेलगायतका काम गरिरहेका र कतिपय अवस्थामा बाटोमा हिँडिरहेका र मोटरसाइकलमा सवारलाई झम्टेर मार्ने वा घाइते बनाएका घटना धेरै छन् । 

शुक्लाफाँटा वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा बाघको ओहोर–दोहोरले स्थानीय बासिन्दामा त्रास फैलिएको र घाँसपात गरिरहेका मानिसलाई लतारेर लगेर मारेका, घाइते बनाएका घटनाहरूका समाचार आइरहेका छन् । पर्सा वन्यजन्तु आरक्ष, त्यसको मध्यवर्ती क्षेत्र र आसपासका बासिन्दा पनि कामकाजका लागि घरबाहिर र जङ्गल ओहोरदोहोर गर्दा बाघको आक्रमणमा पर्ने गरेका छन् । 

यी सबै सन्दर्भबाट १३ वर्षअघि चोरीसिकारीको बिगबिगीमा बाघको सङ्ख्या जोगाउन हम्मे–हम्मे परेको बेला जोडतोडका साथ सुरु गरिएको बाघ दोब्बर बनाउने अभियानले अहिले बाघको सङ्ख्या मात्रै नबढेर ‘बाघ ठुलो कि मानिस ठुलो’ भन्ने सवाल उठेको देखिन्छ । बाघको सङ्ख्या दोब्बर, तेब्बर र त्योभन्दा बढी बनाउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा नेपालको नाम र चर्चा दुवै होला तर घरमा बङ्गुरलाई दाना दिन निस्केका वृद्ध, चुलो बाल्न दाउरा खोज्न हिँडेका किसान, तरकारी पकाउन निगुरो टिप्न निस्केकी गृहिणी र साथीसँगै घर छेउ नदीमा माछा मार्न गएका बालकले बाघकै कारण मृत्युवरण गरिसक्दा पनि दोषजति मानिसलाई दिएर एकोहोरो बाघ संरक्षणको मात्रै रटान लगाउनु अबका दिनमा प्रत्युत्पादक हुन पुग्छ । 

सरकारले यस वर्ष विश्व बाघ दिवसको नारा ‘मानव बाघ सहअस्तित्व’ राखेर बाघको सङ्ख्या बढ्दा मानव–बाघ द्वन्द्वका घटना बढेको यथार्थ मनन गर्दै त्यस्ता घटना कम गर्न बाघको बासस्थान व्यवस्थापन गर्नेलगायत कार्य गरिने जनाएको छ । 

विज्ञहरू बच्चासँगै भएको पोथी बाघ, भाले–पोथी समागमको बेला, आफ्नो क्षेत्र कब्जा गरेर हैकम जमाउन भाले–भाले लडाइँ भएर हारेको बेला, मानसिक समस्या भएको बेला, बुढो या सिकार गर्न असक्षम भएको बाघले मानिसलाई आक्रमण गर्छ । बाघले बिना कारण आक्रमण गर्दैन भनिन्छ । सकेसम्म बाघका गतिविधि हुने क्षेत्रतिर नजान भनेर बारम्बार भन्दा बाघ प्राथमिकतामा परेको हो कि भन्ने भान पीडित मानिसलाई पर्दै गएको छ । यस्तो भन्दैमा सरकारले बाघ मात्रै जोगाउन खोज्यो भनेर भनिहाल्न मिल्दैन । दोहो-याएर आक्रमण गर्ने बाघलाई उद्धार गरेर खोरमा राख्ने होस् या पीडित परिवारलाई क्षतिपूर्ति दिएर होस् वा स्थानीयमा जनचेतना फैलाएर द्वन्द्वका घटना कम गर्न सरकार लागि परेकै छ ।

तर पनि सरकारको राहत र क्षतिपूर्तिले बाघले मारिसकेको मानिस फिर्ता आउँदैन । वन, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, सामुदायिक वन आसपासका भेगमा बाघ बस्तीमै पुगेर आक्रमण गर्ने घटना बढिरहेका छन् । यस्तोमा मानिस दैनिक गुजारा गर्न, कामकाजका लागि घर बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था छ । घरमै आएर बाघले आक्रमण ग-यो र प्रतिकार गर्दा बाघलाई केही भए संरक्षणमुखी कानुनले त्यहीँ पीडित मानिसलाई नै सजाय दिन्छ । 

यस्तोमा सरकारले बाघ संरक्षणलाई बढावा दिँदै बाघको बासस्थान बढाएर हुन्छ वा प्रभावित मानव बस्ती अन्यत्र सारेर हुन्छ कि के गरेर हुन्छ मानवीय क्षति कम गर्ने उपाय, नीति वा कार्यक्रम निर्माण र कार्यान्वयन गर्न ढिला गर्न हुँदैन । नत्र बढिरहेका बाघको आक्रमणका घटना, त्यसबाट मारिएका वा घाइते र पीडित परिवारको विचल्लीको चर्को मूल्य चुकाउन पर्ने दिन धेरै टाढा छैन । बाघले त यो सबै बुझ्दैन, बुझ्ने सम्बन्धित निकायले नै हो । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।  

Author

प्रमोदकुमार टण्डन