• १५ वैशाख २०८१, शनिबार

सौर्य विद्युत् आयोजनामा ताला

blog

धनुषाको ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजना । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन २५ गते । धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानीे माग गर्दै तालाबन्दी गरेका हुन् । 

आयोजनाले प्रतिकठ्ठा छ हजार पाँच रुपियाँका दरले ८२ जना किसानसँग ५६ बिघा जमिन भाडामा लिएको छ । जग्गाधनीहरुले आयोजनामा तालाबन्दी गरेपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ । उक्त आयोजनाले सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्दैआएको छ । 

आयोजनामा ताला लगाउन पुगेका सम्बन्धित जग्गाधनीले १५ महिनादेखि जग्गा भाडा बाँकी रहेको बताउनुभयो । सञ्चालक नवीनकुमार सिंह एक वर्षदेखि सम्पर्कमा नआएको र कार्यालयमा आएर पटक पटक माग गर्दा पनि पैसा नदिएपछि बाध्य भएर आयोजनामा तालाबन्दी गरिएको उहाँहरुले जानकारी दिनुभयो । 

एक जना जग्गाधनी नन्दकिशोर यादवले जग्गा भाडावापतको रकम पठाउन छोडेपछि आयोजनामा ताला लगाउनुपर्ने अवस्था आएको बताउनुभयो । “सञ्चालकले किस्ता बनाएर तीन महिनाको एकमुष्ट रकम बैङ्क खातामै पैसा पठादिन्थ्यो । पाँच किस्ता भयो रकम पठाएको छैन” उहाँले भन्नुभयो ।

कार्यालयमा गयो सञ्चालकलाई सम्पर्क गर्नुस् भन्नेगरेको उहाँहरुको गुनासो छ । सञ्चालकलाई फोन गर्दा फोन नउठेको उहाँहरुको गुनासो छ । कतिपय जग्गाधनीको घरखर्च त्यही पैसाले चल्नेगरेको छ । पैसा नपाएपछि घर खर्च चलाउन समस्या भएको यादवको भनाइ छ । 

आयोजनाका सहायक म्यानेजर धर्मेन्द्रकुमार सिंहले एक हप्ताभित्र सबैको रकम भुक्तानी गरिदिने भन्दाभन्दै पनि सम्बन्धित जग्गाधनीले आयोजनामा तालाबन्दी गरेको बताउनुभयो ।