• १४ मंसिर २०८१, शुक्रबार

खाजा पाएपछि मदरसाप्रति आकर्षण

blog

लीलाराज खड्का

बिर्तामोड, साउन २५ गते । झापा गाउँपालिकामा सञ्चालित मदरसाहरूले समेत दिवा खाजा दिन सुरु गरेसँगै मुस्लिम विद्यार्थीमा मदरसाप्रतिको आकर्षण बढेको छ । 

मुठीदानबाट व्यवस्थापन चुनौतीका साथ चलिरहेका मदरसाहरूले समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी भएका छन् । झापा–३ मा रहेको मदरसा इस्लामिया रुहिमारीमा बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई बुधबारदेखि दिवा खाजाको व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष गुलाबर विन मियाँले बताउनुभयो ।

नेपाल सरकारबाट ससर्त अनुदानमा आएको रकमबाट मदरसामा दिवा खाजाको व्यवस्थापन गरेको झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले बताउनुभयो । “मदरसामा व्यवस्थापन चुनौती धेरै छन्, यहाँ रहेका १८ वटा मदरसामध्ये अधिकांश मदरसाले दिवा खाजा दिन सुरु गरेका छन्,” उहाँले भन्नुभयो । 

झापा गाउँपालिकामा मात्रै १८ वटा मदरसामा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँछौँ भनेर कार्यक्रम गर्ने मदरसाहरूलाई अन्य सरकारी विद्यालय झैँ सुविधा दिने प्रमुख ढकालको भनाइ छ । हालसम्म झापा गाउँपालिकाका सात वटा मदरसाले विशेष कार्यव्रmम आयोजना गरेर दिवा खाजाको कार्यक्रम सुरु गरिसकेका र अन्यले समेत चाँडै सञ्चालन गर्न लागिएको जनाएका छन् ।

अहिले कार्यक्रम सुरु गर्ने मदरसाले पहिलो भुक्तानी असोजमा पाउनेसमेत ढकालले बताउनुभयो । दिवा खाजाको व्यवस्थापन गर्न सक्छाँै भनेर मदरसा आए बजेट दिन तयार रहेको झापा गाउँपालिकाकी अध्यक्ष अञ्जुदेवी थपलियाले बताउनुभयो ।