शिवा तामाङ
काठमाडौँ, साउन २४ गते । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
समुहद्वारा बुधवार आयोजित कार्यक्रमबीच मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष कविता पाण्डे र अस्पतालका निर्देशक स्वरूपा श्रेष्ठबीच उपचार सेवामा छुट गर्नेसम्वन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
डा.मुरारीमान श्रेष्ठले सो अस्पतालमा क्यान्सर रोगको उपचार सेवा लिन जाने एकल महिला र उहाँको १८ वर्षमुनिका सन्तानका लागि “रेडियोलोजी, ल्याबसेवा, बेड शुल्कमा १० प्रतिशत, रेडिएसन थेरापी, ब्रान्च थेरापी र केमो दिनुपरेमा त्यसमा लाग्ने शुल्कको ५ प्रतिशत र निरोगी अभियान अन्तर्गत होलवडी हेल्थकेयर परीक्षण शुल्कमा १० प्रतिशतका दरले छुट गर्नेगरी सम्झौता गरिएको बताउनुभयो ।
सो अस्पतालका निर्देशक स्वरूपा श्रेष्ठले अन्य रोगको तुलनामा क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ, एकल महिला र उनका सन्तानलाई अस्पतालले “वेलनेस प्याकेज अन्तर्गत छुट दिने लक्ष्य अन्तर्गत एक वर्षका लागि सम्झौता गरेको जानकारी दिनुभयो ।
बुढानिलकण्ठ नगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख कुमारप्रसाद दाहालले एकल महिला र उहाँका सन्तानका लागि लक्षितगरी अस्पतालले विभिन्न शीर्षकमा उपचार सेवामा दिने छुट प्रतिशत समग्रमा २५ प्रतिशत हुन आउँछ भन्दै क्यान्सर रोग नै लागेका विरामीका लागि छुटले राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष कविता पाण्डेले एकल महिलाले सामान्य जीवनयापनकै लागि सङ्घर्ष गर्नुपरेको बताउनुभयो । क्यान्सरजन्य खर्चिलो रोग लाग्दा उपचार गर्न कठिन छ, समुहको पहलमा सो अस्पतालले उपचार सेवामा छुट दिने सम्झौताले विरामीका लागि राहत पुग्ने उहाँले आशा व्यक्त गर्नुभयो ।