• २० असोज २०८१, आइतबार

कोशी प्रदेशमा डेंगीले नौ जनाको मृत्यु, सात हजारमा सङ्क्रमण

blog

स्वास्थ्य निर्देशनालय धनकुटा

कबिराज घिमिरे 

हिले, साउन २४ गते । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ  भने सात हजार बढीमा सङ्क्रमण देखिएको छ । 

प्रदेश १ का १३ जिल्लामा अहिलेसम्म सात हजार दुई सय ७३ जनामा डेंगी सङ्क्रमण देखिएको छ । मृत्यु हुने सबै सुनसरीका रहेका छन् । डेंगी सङ्क्रमण प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिएको छ । सोलुखुम्बुमा जिल्लामा भने हालसम्म सङ्क्रमण देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । 

कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको सङ्क्रमण बढी देखिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा सङ्क्रमण देखिएको छ । 

सुनसरीमा ४ हजार ८ सय ७४, मोरङमा १ हजार १ सय ७१, झापामा ५ सय ६४, उदयपुरमा १ सय ९२ र धनकुटामा १ सय ३४ जनामा डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । यस्तै भोजपुरमा ९८, सङ्खुवासभामा ९७, तेह्रथुममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुङ्गामा ६ र खोटाङमा ४ जनामा सङ्क्रमण देखिएको बस्नेतले बताउनुभयो ।

डेंगीको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न कुनै कसर बाँकी नराख्न निर्देशनसमेत जारी गरेको छ ।