• २० असोज २०८१, आइतबार

स्टोरमै थन्कियो घिउ र चीज

blog

इलाममा उत्पादित घिउ र चीज । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन २४ गते । जिल्लाका विभिन्न डेरीमा उत्पादित नौनी घिउ र चीज बिक्री नहुँदा अहिले डेरी व्यवसायीहरू समस्यामा परेका छन् । गत वैशाख यता नौनी घिउको उपभोक्ताबाट माग नै नआउँदा उत्पादित घिउ त्यसै थन्क्याउनुपरेको व्यवसायीहरूले बताएका छन् । 

जिल्लामा अहिले डेढसय बढी डेरी उद्योगहरू सञ्चालनमा छन् । सबै डेरीहरूले किसानबाट दुध सङ्कलन गरी घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका छन् । प्रायः डेरीमा कम्तीमा पनि दुईदेखि तीन हजार किलो नौनी घिउ ‘स्टक’ रहेको सूर्योदय नगरपालिकास्थित दुग्ध व्यवसायी सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष जगत् महतले वैशाख महिना यता घिउ र चीज बिक्री हुन नसकेको बताउनुभयो । ‘अहिले हामीले घिउ र चीज बिक्री गर्न पाएका छैनौँ । उत्पादित वस्तुलाई राख्ने कोल्ड स्टोर नहुँदा अर्को समस्या झेल्नुपरेको छ’ अध्यक्ष महतले भन्नुभयो, ‘नौनी घिउ धेरैमा चार महिना मात्र राख्न सकिन्छ । त्यस अवधिमा पनि बिक्री भएन भने नष्ट हुने अवस्था रहन्छ ।’ 

करिब दशक यता दुग्ध परिकारहरूको व्यवसाय गर्दै आउनुभएका इलाम नगरपालिका स्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताउनुभयो । उपभोक्ताबाट माग नआएको उहाँको भनाइ छ । ‘पहिलो कारण पशुहरूमा देखिएको लम्पी स्किन रहेको उहाँले चर्चा गर्नुभयो । 

अर्को कारण सरकारले दूधको मूल्य वृद्धि गरेपछि पनि घिउको मूल्य बढेका कारण र चाडपर्वहरू कम भएका कारण पनि उपभोक्ताबाट माग नआएको हुनसक्ने उहाँले बताउनुभयो । खत्रीले भन्नुभयो, ‘विदेश निर्यात हुने छुर्पीकै पनि माग कम छ । विदेश अर्थात् भारत, जर्मन, अमेरिका तिरै पनि डगच्युको रूपमा छुर्पी उत्पादन हुन थालेको छ । 

नेपालको उत्पादनभन्दा बाहिरको उत्पादनको मूल्य कम भएका कारण पनि नेपाली उत्पादन थन्किनु पर्ने अवस्थामा छ । खत्रीले छुर्पी (डगच्यु’ गएको आर्थिक वर्षमा ३० हजार किलो निर्यात गरेको बताउनुभयो । घिउ नेपालकै काठमाडौँ, विराटनगर, धरानलगायतका बजारमा जाने गरेको छ । 


व्यवसायीहरूले घिउ प्रतिकिलो ७५० रुपियाँदेखि ८५० रुपियाँ प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । सरकारले दुधको मूल्य वृद्धि गर्नअघि अर्थात् गएको फागुन महिनासम्म बढीमा प्रतिकिलो ६५० रुपियाँ सम्ममात्र घिउ बिक्री हुनेगरेको थियो । दुधको मूल्य बढेसँगै व्यवसायीले प्रतिकिलो डेढदेखि दुईसय रुपियाँ मूल्य वृद्धि गरेर बिक्री गरिरहेका छन् । 

उत्पादित घिउ बिक्री नभएपछि सूर्योदय नगरपालिका–९ मा निर्माण गरिएको ‘कोल्ड रुम’ अहिले त्यही घिउले भरिएको छ । अन्य तरकारीजन्य सामग्री समेतलाई राख्नेगरी निर्माण गरिएको कोल्ड रुममा घिउ बिग्रने भएकाले अहिले घिउमात्र राखिएको वडा–९ का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्यले जानकारी दिनुभयो । 

पशुहरूमा देखिएको रोगका कारण पनि उपभोक्ताले घिउ नरुचाएको हुनसक्ने इलाम नगरपालिका स्थित पशुस्वास्थ्य शाखाका प्रमुख रूपबहादुर लिम्बुको भनाइ छ । ‘लम्पीका कारण दुध पनि राम्रोसँग उमालेर खान हुन्छ । अहिले त इलाममा लम्पी कम हुँदैगएको छ ।’ लिम्बुले भन्नुभयो ‘समयमै भ्याक्सिन दिएकाले धेरै पशुलाई जोगाउन सकियो ।’