• १२ साउन २०८१, शनिबार

सहकारी गोएमएल प्रणालीमा आबद्ध हुनुपर्ने

blog

काठमाडौँ, साउन २४ गते । अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ ।

गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।

विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी वित्तीय जानकारी एकाइको गोएमएल सफ्टवेयरमा आबद्ध भई सीमा र शङ्कास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएको थियो ।

विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिस्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदन जस्ता विवरण प्रणालीमा प्रेषित गर्न आह्वान गरेको छ ।अहिले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरू तीन हजारको हाराहारीमा भए पनि गत आर्थिक वर्षसम्म चार सय मात्र गोएएमएलमा आबद्ध रहेको वित्तीय जानकारी एकाइले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्सलगायतका कम्पनीलाई गोएएमएलमा आबद्धता अनिवार्य भए पनि सहकारीको हकमा भने १० करोडभन्दा बढी कारोबार गर्ने संस्थालाई मात्र अनिवार्य गरिएको हो ।

गोएमएलमा आबद्ध नहुने सहकारीलाई पनि एकाइले गोएमएल सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचना पठाउनुपर्ने व्यवस्था गरेको छ । जसमा सीमा कारोबारको सूचना एक्सल फम्र्याटमा र शङ्कास्पद कारोबारको सूचना वर्ड, पिडिएफ फम्र्याटमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक पटक गरेर एक दिनमा १० लाख रुपियाँभन्दा बढीको कारोबार गरेमा सीमा कारोबार अन्तर्गत सूचना केन्द्रमा पठाउनुपर्ने विभागको निर्देशन छ ।