• ९ वैशाख २०८२, मङ्गलबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास सुरु

blog

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ।

इस्लामावाद, साउन २३ गते । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज (मङ्गलबार) पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदन उपर भोलि (बुधबार) सुनुवाइ हुने बताइएको छ ।

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट  खानलाई गत शनिबार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्‍याएर उक्त अदालतले शनिबार नै उहाँलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

पूर्वप्रधानमन्त्री खानलाई राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ऐतिहासिक एटक शहरको बाहिरी भागमा रहेको औपनिवेशिक युगको जेलमा राखिएको छ । तल्लो स्तरको उक्त जेलमा अमानवीय ढङ्गले उहाँलाई राखिएको उहाँका वकिल मिसाल युसुफजाईले बताउनुभएको छ ।

“अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ । अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको सेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,”७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न माग गरिएको उल्लेख गर्दै युसुफजाईले बताउनुभयो । रासस/एएफपी