• ३० वैशाख २०८२, मङ्गलबार

गुल्मीमा शनिबारदेखि हराएका दुई किशोरी भेटिए

blog

तिलाचन पाण्डे

तम्घास,साउन २३ गते। गुल्मीमा शनिबार रातिदेखि हराएका दुई किशोरी जिल्लाको सदरमुकाम तम्घासमा फेला परेका छन्।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई किशोरी हराएका थिए।

हराएकामध्ये शोभाना घिमिरेकी छोरी १४ वर्षीया पुष्पा घिमिरे गुल्मीको सदरमुकाम तम्घासको बसपार्कको  होटलमा भेटिनुभएको हो।उहाँसँगै हराएकी  सोही स्थानकी तारा घिमिरेकी छोरी १५ वर्षीया जुना घिमिरे मङ्गलबार बिहान  उपल्लो तम्घासमा भेटिनुभएको हो ।

२१ गते बिहान घरमा नभएपछि उनीहरुका ठुलोबुवा चित्रबहादुर महताराले १४ र १५ वर्षीया दुई बालिका हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भन्दै  जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएको र सोही आधारमा खोजतलासलाई प्रहरीले तीव्रता दिएको थियो। 

हराएका उनीहरु २१ गते साँझ तम्घासस्थित बसपार्कको एक होटलमा बसेका थिए।बिहान आफूहरुलाई खोज्दै आएको जानकारी आएपछि पुष्पा सम्पर्कमा आउनुभयो  भने जुना भाग्नुभएको थियो।२३ गते बिहान जुना पनि सम्पर्कमा आउनुभयो ।

जिल्ला प्रहरी गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले भेटिएका किशोरी कोही कसैमार्फत पीडित भएको पाइएमा थप अनुसन्धान गरिने जानकारी दिनुभयो।आफ्नै खुसीले भागेर हिँडेको भएमा सम्झाई बुझाई आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरी प्रमुख प्रधानले जानकारी दिनुभयो।