• १४ जेठ २०८१, सोमबार

बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित

blog

जोशीपुर गाउँपालिका–३ भितरिया गाउँमा भएको डुबान । तस्बिर : सुधराम दहित

अविनाश चौधरी
धनगढी, साउन २३ गते ।
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकामा सबैभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

कान्द्रा नदीमा आएको बाढीका कारण भजनी नगरपालिका–७ शिराधानी शिविरका १५० परिवार, वडा नम्बर ५ कुटीका ५० परिवार, पुलियापुरका १६ घर परिवार प्रभावित भएका छन् ।

यस्तै, सोही पालिकामा काँढा नदीमा आएको बाढीले गर्दा वडा नम्बर २ मोहनपुरका १५ घरपरिवार, वडा नम्बर ३ ढुसीका पाँच घरपरिवार र वडा नम्बर ८ जनकपुरका एक घरपरिवार प्रभावित भएका छन् ।

ढुसीमा काठले बनेको कच्ची भान्सा घर पनि भत्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । काँढा र कान्द्रा नदीको बाढीका कारण भजनीमा मात्रै २३७ घर परिवार प्रभावित भएका जनाइएको छ ।

यस्तै, कैलारी गाउँपालिका–७ मा करिब १५५ परिवार बाढीका कारण प्रभावित भएका छन् । छटकपुर बसन्तामा ८५, बड्का बसन्तामा ५० र भुइयाँफाँटामा २० घरपरिवार प्रभावित भएका जनाइएको छ । कटैनी नदीमा आएको बाढी घरमा पसेको वडा सदस्यसमेत रहनुभएका छटकपुर बसन्ताका टुनीराम चौधरीले बताउनुभयो । उहाँले यो वर्ष पहिलो पटक आएको ठूलो बाढीले बिजोग बनाएको उल्लेख गर्नुभयो । 

यसैगरी, काँढा नदीको बाढीका जोशीपुर गाउँपालिका–३ फाँडिया भितरियाका ५६ घरधुरी बाढीबाट प्रभावित भएका छन् । घरमा पानी पसेपछि भोकभोकै बसेका स्थानीयलाई वडा कार्यालयले सुख्खा खाद्यान्नसहित पानी बाँडेको छ ।

धनगढी उपमहानगरपालिका–१५ कनरीका १४ परिवार खुटिया नदीको बाढीका कारण प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीयवासीद्वारा उद्धारको कार्य भइरहेको छ । सोमबारबाट भएको भीषण वर्षाका कारण कैलाली भएर बग्ने मोहना, खुटिया, कान्द्रा, काँढा, कटैनी, पथरैयालगायत साना ठूला सबै नदीमा जलसतह बढेको छ ।

भजनी नगरपालिकामा स्थानीयका घरमा बाढी पसेपछि जनप्रतिनिधिसहितको टोली उद्धारमा खटिएको थियो । प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, नगरप्रमुख केवल चौधरीसमेत विपतमा परेका भजनीबासीको उद्धार र उनीहरुको सामान सुरक्षित स्थानसम्म सार्ने कार्यमा खट्नुभएको छ ।

काँढा नदीको बाढीले बाँध भत्काएपछि काँढालगायतका गाउँमा बाढी पसेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो ।