• २१ वैशाख २०८१, शुक्रबार

ढिलो वर्षाले किसानलाई बेफाइदा

blog

बर्दिबास समाचारदाता

बर्दिबास, साउन २३ गते। लामो खडेरीपछि मधेश प्रदेशमा पानी पर्न सुरु भएको छ । एकाएक मौसम बदली भई आइतबार साँझ सामान्य वर्षा भएको थियो । सोमबार बिहानैदेखि वर्षा भइरहेको छ । 

पानी पर्न थालेपछि चर्को घाम र हपहपी गर्मीबाट मधेशवासीले राहत महसुस गरेका छन् । मौसममा आएको सुधारले प्रकोपका रूपमा फैलिएको आँखा पाक्ने रोग र भाइरल ज्वरोको प्रकोप पनि साम्य हुँदै जाने अपेक्षा गरिएको छ । ग्रामीण भेगमा सुकेका इनार, चापाकल र सिँचाइ बोरिङबाट पानी रसाउने आशा पलाएको छ । 

लामो खडेरीपछि आएको सिमसिमे पानीले मौसमी राहत मिले पनि कृषि क्षेत्रमा यो वर्षाले अपेक्षित लाभ नपु-याउने कृषि विज्ञले जनाएका छन् । ५३ हजार ४१२ हेक्टर खेतीयोग्य जमिन रहेको महोत्तरीमा खडेरीका कारण २०.४० प्रतिशत अर्थात् दस हजार ४९६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षा अभावले जिल्लाको करिब ८० प्रतिशत भूभाग बाँझो रहेको जनाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बृहत् बैठकले सङ्घ र प्रदेश सरकारसमक्ष जिल्लालाई सुख्खा प्रभावित जिल्ला घोषणा गर्नुका साथै राहत प्याकेजका लागि सङ्घ र प्रदेश सरकारलाई  सिफारिससमेत गरेको थियो । 

कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र यादवले अहिले भएको वर्षाले समग्र कृषि क्षेत्रमा अनुकूल प्रभाव पारे पनि अब नयाँ रोपाइँ गर्न नसकिने बताउनुभयो । किसानका छिप्पिसकेका धानका बेर्ना मासिसकेका छन् । कसै गरी रोपाइँ गरिहाले पनि अपेक्षित उत्पादन नहुने हुँदा यो वर्षाले धान खेतको क्षेत्रफलमा भने वृद्धि नहुने बताइन्छ । 

उहाँले भन्नुभयो, “तथापि यसअघि रोपिएका धान, उखु, मकैलगायतका बालीलाई फाइदा पु¥याए पनि बाँझो खेतमा बाली लगाउने समय सकिएकोले जति वर्षा भए पनि अब धान रोप्न मिल्दैन ।” 

सीमावर्ती गाउँपालिका समसी–६, पर्सादेवाडका किसान अरुण यादवका अनुसार विकासे धान आउनुभन्दा पहिले तराई मधेशमा रोपाइँ नै ढिला गरिन्थ्यो । किसानले असार महिनामा थोरै जग्गामा खाउरका लागि रोपाइँ गर्थे । बाँकी जमिनमा साउन अन्त्यसम्मै सोही रोपो उखेलेर खाउरको रोपाइँ गर्ने चलन थियो । खाउरको रोपाइँबाट तुलनात्मक रूपले बढी उत्पादन हुन्थ्यो ।

किसान अरुण यादवले भन्नुभयो, “रैथाने धान छाडेर विकासे धानतर्फ किसानको आकर्षण बढेदेखि खाउर लगाउने र ढिलो रोपाइँ गर्ने परम्परागत धान खेती हराउँदै गएको छ । अब झम्केर वर्षा भइहाले पनि बाँझो जग्गामा बाली लगाउन सकिँदैन ।”

पचासी प्रतिशत रोपाइँ

सप्तरी समाचारदाताका अनुसार जिल्लामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवका अनुसार जिल्लामा धान बाली हुने कुल ७७ हजार १५० हेक्टरमध्ये हालसम्म ५७ हजार आठ सय हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

समयमा पानी नपरेका कारण सानो बोरिङ, पोखरी तथा नदी नालालगायतबाट धान रोपाइँ सम्पन्न भएको जनाइएको छ । उहाँका अनुसार १० हजार दुई सय हेक्टरमा सिँचाइको अभावका कारण अहिलेसम्म धान रोपाइँ हुन सकेको छैन । खडेरीले एक हजार ३६० हेक्टरको ब्याडमा धानको बेर्ना सुकेको तथा रोपाइँ सम्पन्न भएपछि धानको बोट नै सुकिसकेको छ ।

हालसम्म रोपाइँ भएको र सुक्खा प्रभावित क्षेत्र जिल्लाको विवरण अनुसार राजविराज नगरपालिकामा धानबाली हुने तीन हजार ९४ हेक्टरमध्ये दुई हजार ६६१ हेक्टरमा रोपाइँ भएको छ । कञ्चनरूप नगरपालिकाको छ हजार ४५० हेक्टरमध्ये पाँच हजार ७४१, डाक्नेश्वरी नगरपालिकाको तीन हजार ९२२ हेक्टरमध्ये तीन हजार ४१२ तथा बोदेबरसाइन नगरपालिकाको चार हजार ७८२ हेक्टरमध्ये तीन हजार ९२२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । खडक नगरपालिकाको पाँच हजार २६४ हेक्टरमध्ये चार हजार २११, शम्भुनाथ नगरपालिकाको पाँच हजार १९९ हेक्टरमध्ये चार हजार ३६८, सुरुङ्गा नगरपालिकाको पाँच हजार १३८ हेक्टरमध्ये तीन हजार ५९६, हनुमानननगर कङ्कालिनी नगरपालिकाको पाँच हजार ६७३ हेक्टरमध्ये पाँच हजार १०६, सप्तकोशी नगरपालिकाको दुई हजार ८९२ हेक्टरमध्ये दुई हजार ८०५ तथा अग्निसाइवर कृष्णसवरण गाउँपालिकाको पाँच हजार ६२८ हेक्टरमध्ये चार हजार ४४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

छिन्नमस्ता गाउँपालिकाको तीन हजार ६७ हेक्टरमध्ये दुई हजार ६०७, महादेवा गाउँपालिकाको दुई हजार ९८ हेक्टरमध्ये एक हजार ८०६, तिरहुत गाउँपालिकाको दुई हजार ४१२ हेक्टरमध्ये दुई हजार १२३, तिलाठी कोइलाडी गाउँपालिकाको एक हजार ८८८ हेक्टरमध्ये एक हजार ६६१, रूपनी गाउँपालिकाको तीन हजार ३६५ हेक्टरमध्ये दुई हजार ९६१, राजगढ गाउँपालिकाको दुई हजार ४९८ हेक्टरमध्ये दुई हजार ५१८, विष्णुपुर गाउँपालिकाको दुई हजार ३६८ हेक्टरमध्ये दुई हजार १३१ र बलानबिहुल गाउँपालिकाको एक हजार ९६१ हेक्टरमध्ये एक हजार ७२६ हेक्टरमा रोपाइँ सम्पन्न भएको यादवले जानकारी दिनुभयो ।