• ९ साउन २०८१, बुधबार

विद्युतीय प्रणालीमार्फत श्रम स्वीकृति सुचारु

blog

काठमाडौँ, साउन २३ गते ।   अनलाइनमार्फत श्रम स्वीकृति प्रदान गर्ने विद्युतीय प्रणालीमा केही दिनदेखि आएको समस्या समाधान भई सोमबारदेखि सुचारु हुने जनाइएको छ । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को ‘ब्याक अप फुल’ भएर आएको समस्या सोमबारदेखि समाधान हुने जनाएको हो । विभागका अनुसार फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ । 

विभागका निर्देशक कविराज उप्रेतीले प्राविधिक समस्या आएको र प्राविधिक समूहले सल्टाउनका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । 

फेमिसमा ‘अपलोड’ भएकाको भिसा जारी गर्ने काम भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो कारणले भन्दा पनि प्राविधिक समस्या आएर सबै काम प्रभावित भएको हो । अहिलेसम्म भएको प्रगतिको अवस्था बुझ्दा सोमबार ११ बजेदेखि पहिलेकै रफ्तारमा काम हुनेमा विश्वस्त छौँ ।”

विभागले हाल अनलाइनमार्फत नै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम गर्दै आएको छ । सिस्टममा आएको प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जान लागेका हजारौँ श्रमिक समस्यामा परेका छन् । कतिपयको टिकट नै रद्द गर्नुपर्ने अवस्था आएको छ ।