• १६ भदौ २०८१, आइतबार

उच्च नाफा कमाउने बैङ्कमा नबिल र एनआइसी एसिया

blog

काठमाडौँ, साउन २३ गते । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैङ्क लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा रहेको छ ।

बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार हाल सञ्चालनमा रहेका बैङ्कहरूमध्ये नबिल बैङ्क अगाडि रहेको छ ।

बैङ्कले गत आवको असार मसान्तसम्ममा सात अर्ब ५२ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैङ्कले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

बैङ्कको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैङ्कको यस्तो आम्दानी नौ रुपियाँ १८ पैसा बढेर २७ रुपियाँ ८२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपियाँ ६९ पैसा रहेको छ ।

बैङ्कको २७ अर्ब पाँच करोड ६९ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ३१ अर्ब तीन करोड १८ लाख रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैङ्कको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ ।

गत आवको अन्त्यसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड १० लाख रुपियाँ रहेको छ । जसका अनुसार बैङ्कको प्रतिसेयर १४ रुपियाँ ६४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात् बैङ्कको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ८३.६२ प्रतिशत बढेको छ । त्यसै गरी समीक्षा अवधिमा बैङ्कको कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.३७ प्रतिशत बढेको छ ।

बैङ्कको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ भने बैङ्कको कस्ट अफ फन्ड ७.८१ प्रतिशत, आधार दर ९.५२ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत र सिडी रेसियो ८७.६८ प्रतिशत रहेको छ ।

एनआइसी एसियाको चार अर्ब ६५ करोड रुपियाँ मुनाफा

एनआइसी एसिया बैङ्कले गत आर्थिक वर्षको चौथो त्रैमासमा चार अर्ब ६५ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत १० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण छ ।

बैङ्किङ क्षेत्रमा कर्जा असुलीमा दबाब भएर बैङ्कहरूको निष्क्रिय कर्जा बढ्दै जाँदा एनआइसी एसिया बैङ्कको निष्क्रिय कर्जा अनुपात भने ०.८० प्रतिशत रहेको छ । कर्जा असुलीमा आक्रमक रूपमा लाग्दा बैङ्कले लिलामीमा निकालेको धितो बिक्री नभएको सकारेको छ । जसका लागि एक अर्ब २५ करोड ७४ लाख रुपियाँ बैङ्कले नियामकीय जगेडामा छुट्याएको छ ।प्राथमिक पुँजी कोष पु-याउन नसक्दा आव २०७७/७८ र २०७८/७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैङ्कले लाभांश बाँड्न सक्ने देखिएको छ ।

बैङ्कको स्वपुँजीमा प्रतिफल (रिटर्न अन इक्विटी) १७.०७ प्रतिशत रहेको छ भने बैङ्कको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपियाँ २२ पैसा छ । बैङ्कको प्रतिसेयर नेटवर्थ २५६ रुपियाँ ४१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १९.७४ गुणा छ ।असार मसान्तमा ११ अर्ब ५६ करोड चुक्ता पुँजी रहेको बैङ्कको साधारण जगेडा कोषमा १४ अर्ब ३९ करोड र सञ्चित मुनाफा तीन अर्ब ७० करोड पुगेको छ ।

बैङ्कले असार मसान्तसम्म तीन खर्ब १४ अर्ब ३१ करोड रुपियाँ निक्षेप सङ्कलन गरी दुई खर्ब ७१ अर्ब ५९ करोड कर्जा लगानी गरेको छ । बैङ्कले आव २०७९/८० मा छ लाख बढी नयाँ ग्राहक थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक पु-याएको छ । कुल कर्जा लगानीमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको बैङ्कले जनाएको छ ।