• ६ वैशाख २०८१, बिहिबार

डेंगुले यो वर्ष सात जनाको मृत्यु

blog

काठमाडौं, साउन २२ गते । नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म सात हजार ७३३ जना सङ्क्रमित भएको जानकारी दिनुभयो । सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै डा.मरासिनीले सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या सुनसरीमा रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो । डा.मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो । डेंगुबाट हालसम्म सात जनाको मृत्यु भएको डा. मरासिनीले जानकारी दिनुभयो ।

डा.मरासिनीले भन्नुभयो,  ‘गत वर्ष करिब ५४ हजार ७८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजी स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ । सन् २०१९र सन् २०२२ मा महामारीको रूप लिएको थियो ।’’

उहाँले थप्नुभयो, ‘‘यस वर्ष हामी सचेत हुनुपर्ने कारण के छ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसक्या छ । सबैभन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ । सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ । जति पनि बिरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्यु भएको छैन, आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन । कतिपय बिरामीहरू किड्नीका हुनुहुन्थ्यो । कतिपयले डायलायसीस गराइ रहनुभएको थियो । कतिपय बिरामी सुगरको हुनुहुन्थ्यो ।’’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु सङ्क्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सचिव डा.पोखरेलले भन्नुभयो, ‘‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र यो निःशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शङ्का लागेमा परीक्षण गर्नुपर्ने हो । टेस्टमा शुल्कको एक रुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । निजी अस्पतालहरूसँग पनि समन्वय गरेर परीक्षणमा एकरूपता ल्याउने कोसीसमा छौँ । कहीँ पाँच सय पचास रुपियाँ कहीँ नौ सय रुपियाँ पनि छ । नेपाल सरकारका केही अस्पतालमा डेंगु लागेको शङ्का लागेमा गर्नुपर्ने परीक्षण केही निःशुल्क पनि गरिरहेका छौँ ।’’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.विमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोज्ने र नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने वासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘डेंगुका चार वटा सेरोटाइपमध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकमपनि १८ महिनादेखि दुई वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगी लागे पनि गम्भीर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भीर बिरामीमात्रै अस्पतालमा आएकाले बिरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रूपमा बढेको छैन ।’’ नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।