• १३ मंसिर २०८१, बिहिबार

चमा गाउँमा पुग्यो बिजुली

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन २२ गते  । नवदुर्गा गाउँपालिका–५, चमा गाउँमा पहिलो पटक बिजुली बलेको छ। २०७९ सालको स्थानीय चुनावका बेला ‘नो इलेक्ट्रिसिटी नो भोट’ को नारा लागेको यस गाउँमा चुनाव सम्पन्न भएको एक वर्षपछि बिजुली बलेको हो। 

बिजुली नहुँदा चमा गाउँवासी ससाना सोलारको प्रयोग गर्दै आएका थिए। विगत छ वर्षदेखि बिजुलीको माग गर्दै आएका स्थानीयले गत वर्षको चुनावमा ‘नो इलेक्ट्रिसिटी नो भोट’ भन्दै चुनाव बहिष्कारको निर्णय गरेका थिए। 

स्थानीय सुरेन्द्र विष्टका अनुसार बिजुलीको माग निरन्तर रूपमा राख्दै आएपछि अहिले बल्ल बिजुली बलेको छ। चमावारिको सिरोड गाउँमा गत पुस महिनामा बिजुली बलेको थियो। 

चमा र सिरोड गाउँसँगै वडा नम्बर ४ र ५ का एक दर्जन गाउँमा बिजुली बलेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी अवस्थीले जानकारी दिनुभयो। हाल चमा, सिरोडसँगै कटाल, काकाडपानी, खटौटे, चलकट्टे, इसलेकलगायतका गाउँमा पनि बिजुली बलेको छ।

गत वर्ष नै बिजुली बलिसक्नुपर्ने भए पनि ठेकेदारको लापरबाहीका कारण ढिलो भएको थियो। २०७८ सालको अन्त्यमै विद्युत् विस्तारको काम सक्ने गरी दुई वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख रमेश अवस्थी पोल गाडेर ठेकेदार बेपत्ता भएका कारण बत्ती बाल्न ढिला भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “ठेकेदार बेपत्ता भएपछि गोरखापत्रमा सम्झौता रद्द गरिने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भनेर सूचना निकाल्यौँ। त्यसपछि ठेकेदार सम्पर्कमा आएर हाल विद्युत् विस्तारको काम पूरा भएको छ। 

आर आर कन्स्ट्रक्सन र सकुन इन्जिनियरिङ निर्माण सेवासँग अमरगढी नगरपालिका, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा विद्युत् विस्तारका लागि करिब ५० लाख रुपियाँको ठेक्का सम्झौता भएको थियो तर निर्माण कम्पनीहरू काम अधुरै छोडेर बेपत्ता भएका थिए। 

हाल डडेलधुराको ७५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ। बाँकी २५ प्रतिशत घरधुरीमा विद्युतकाे पहुँच पु-याउने काम भइरहेको र ठेकेदारले समयमै काम सम्पन्न गरे चालु आवभित्रै शतप्रतिशत घरधुरीमा विद्युतकाे पहुँच पुग्ने जनाइएको छ।