• १४ जेठ २०८१, सोमबार

बालबालिकामा गलफुलो पठनपाठनमा समस्या

blog

धनगढी समाचारदाता

धनगढी, साउन २२ गते । गलफुलो (मम्प्स) समस्याले कैलालीका बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। आँखा पाक्ने भाइरलको प्रकोप बढेका बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। 

यस समस्याले गर्दा बालबालिका विद्यालय जानसमेत नसकेको धनगढी उपमहानगरपालिका–८ की अप्सना चौधरीले बताउनुभयो।  गलफुलो भएपछि बालबच्चाले चार/पाँच दिनसम्म खानेकुरा नै राम्ररी खान सक्दैनन्। विद्यालयबाट आएपछि हाम्रो भाइलाई त्यही समस्या देखियो, चौधरीले भन्नुभयो, “केही दिन दुखेर खानासमेत खान सकेन।” 

सुरुमा दाँत दुख्यो भनेर दुःखाइ महसुस गरेको आफ्नो भाइलाई पछि ज्वरोसमेत आएको उहाँले बताउनुभयो। गलफुलो समस्या बढी मात्रामा देखा पर्न थालेपछि निजी विद्यालयले निगरानी बढाएका छन्। 

गलफुलो भएका विद्यार्थीलाई सकेसम्म विद्यालय नआउनु भन्ने गरेको शिक्षकको भनाइ छ। स्वास्थ्यकर्मीका अनुसार गलफुलो भएमा ज्वरो आउने, थकान महसुस हुने, खान मन नलाग्ने र चपाउन नसक्ने, शरीर दुख्ने जस्ता लक्षण देखा पर्छ। 

अहिले गलफुलोको समस्या अलि बढी नै देखा परिरहेको धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताउनुभयो। यो श्वासप्रश्वास वा -यालको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो, उहाँले भन्नुभयो, “बिरामीको सम्पर्कमा आएका व्यक्तिमा यो रोग चाँडै सर्छ।”

यो रोग सबै जसो बालबालिकामा लाग्ने गरेको जनाइएको छ तर एकचोटि लागिसकेकालाई भने यसको सङ्क्रमण दोहोरो हुने सम्भावना निकै कम रहेको छ। उहाँले कसैलाई गलफुलो समस्या भएमा अरूलाई सर्नबाट जोगाउनका लागि बिरामीलाई आइसोलेसनमा राख्न आवश्यक रहेको औँल्याउनुभयो। बिरामीले प्रयोग गरेको सामान, हाँच्छ्युँ गर्दा, खोक्दा सिँगानको छिटामार्फत गलफुलो सर्ने जोखिम रहेको जनाइएको छ।

बढ्यो सङ्क्रमण  

आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) को प्रकोपका कारण विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। विद्यार्थी, शिक्षकलगायत अन्य कर्मचारीमा यस रोगको सङ्क्रमण बढ्न थालेपछि पठनपाठन प्रभावित हुन थालेको हो। घरैपिच्छे आँखा पाक्ने रोगबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ। विद्यार्थीसहित शिक्षक, कर्मचारी र अभिभावकमा पनि सङ्क्रमण बढ्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको छ। 

लम्कीचुहा नगरपालिकामा रहेको प्याब्सन र एनप्याब्सन आबद्ध विद्यालयमा तीन दिन बिदा गरिएको छ। आँखा पाक्ने रोगबाट विद्यार्थी, शिक्षकशिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भएकाले विद्यालय बन्द गरिएको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले बताउनुभयो। 

धनगढीस्थित आँखा उपचार केन्द्रका अनुसार दैनिक दुई जनाभन्दा बढी औषधी र चस्मा लिन आउने गरेका छन्। ‘भाइरल कन्जङ्क्टिभाइटिस’को सङ्क्रमण भएमा आँखाबाट आँसु बग्ने, बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिने, आँखा खोल्न गाह्रो हुने, घाम हेर्न वा बस्न गाह्रो हुने लक्षण देखिन्छ।