• २१ वैशाख २०८१, शुक्रबार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, साउन २१ गते । नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका –९, सोल्टीमोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

नयाँ रोडबाट बरहथवातर्फ जाँदैगरेको ना १ ज २८४९ नम्बरको म्युजिक र विपरीत दिशाबाट आउँदै गरेको ना २० प ५१७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका –१, मङ्गलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको हो । 

शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएका सहनीलाई उपचारका लागि नमुना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सिरहाको मिर्चैया नगरपालिका –१, बस्ने २७ वर्षीया चन्देश्वरी महरा गम्भीर घाइते हुनुभएको छ । उहाँको न्युरो अस्पताल वीरगञ्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकलसँग ठोक्किएको म्युजिक र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बरहथवाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।