रमेशबहादुर रावत
अछाम, साउन २१ गते । जिल्लाको रामारोशन गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तलब घटाइएको भन्दै आन्दोलन सुरु गरेका छन् । गाउँपालिकामा कार्यरत करार कर्मचारीको खाइपाइ आएको तलब घटाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
उनीहरूले कार्यपालिका बैठकबाट तलब घटाउने निर्णय भएको भन्दै विज्ञप्तिमार्फत् आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जस अन्तर्गत आइतबारदेखि गाउँपालिकाको सम्पूर्ण शाखा, वडा कार्यालय, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । कर्मचारीहरू आइतबार काममा नजाँदा सेवा प्रवाह बन्द भएको पालिकाका सूचना अधिकारी दीपक खनालले बताउनुभयो ।
आन्दोलनरत कर्मचारीहरूले आफ्नो तलब घटाउन नपाइने भन्दै गाउँपालिकाकी उपाध्यक्ष सृजना बुढालाई ज्ञापन पत्र बुझाएका छन् । पालिका सरकार आफूहरूले उठाएको विषयमा गम्भीर नभएको आन्दोलनरत कर्मचारी मीन विष्टको भनाइ छ ।
यता गाउँपालिकाकी कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष सृजना बुढाले भने कर्मचारीको तलब घटाउने लगायतका विषयमा बैठकमा छलफल मात्र भएको तर घटाउने निर्णय नभएको दाबी गर्नुभयो । उहाँका अनुसार रामारोशन गाउँपालिकामा विकासे बजेटबाट कर्मचारीलाई तलब खुवाउनु पर्दा विकासे काममा बाधा पुगेको छ ।
यस्तै, असार ८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले कर्मचारीको तलब घटाउने निर्णय गरेको बत्ताइएको छ। रामारोशन गाउँपालिकामा ९० जना बढी करार कर्मचारी कार्यरत छन् ।
बैठकले कार्यालय सहयोगीको तलब १६ बजार, चौथो तहका कर्मचारीको तलब २१ हजार र पाँचौँ तहका कर्मचारीको तलब २२ हजार कायम गरेको सूचना अधिकारी खनालले बताउनुभयो । आन्दोलनरत कर्मचारीले आफ्नो आन्दोलनको बेवास्ता गरेमा थप सङ्घर्षका कार्यक्रम गर्ने बताएका छन् ।