बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी) साउन २१ गते । वराहक्षेत्र २, पुनर्वासका, कृष्णप्रसाद अधिकारी दुई हप्तादेखि राम्रोसँग निदाउन पाउनुभएको छैन । प्रत्येक साँझ एक हातमा बत्ती र अर्को हातमा लट्ठी बोकेर रात कटाउनु उहाँको दैनिकी नै बनेको छ । यता उहाँ प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।
चारकोसे जङ्गलको उत्तरी गाउँ पुनर्वासको आसपास क्षेत्रमा फिरन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीयहरू रातभर निदाउन पाउँदैनन् ।
“घरैपिच्छे लाइट, दाउरा बोकेर हात्ती धपाउन लागेका छौँ । धेरै रात भइसक्यो छर्लङ्गै बनाएको । नगरबाट साइरन जडित दमकलले हात्ती धपाउन सहयोग पुर्याउँदै आएको छ । अब यसरी कति दिन हात्ती रुँगेर बस्ने ?” स्थानीय माधव कार्कीले भन्नुभयो ।
चारकाेसे जङ्गलमा बसेर साँझपख गाउँ पस्ने हात्तीले स्थानीयको अन्न, बालीनाली मात्रै नाश गरेको छैन, घरै भत्काइदिएर दुःख दिने गरेको स्थानीय कृष्णप्रसाद अधिकारीले बताउनुभयो । साउन १९ गते मध्यरातमा आएका सात वटा जङ्गली हात्तीले वराहक्षेत्र २ पुनर्वास डाँडाटोलका सुरेश परियारको फुसको घरको घेराबारा भत्काएर क्षति गरेको छ । उहाँले भन्नुभयो, “दुई दिनअघि किनेर ल्याएको ५० किलो चामल खाएर र छरेर नष्ट गरिदिए । अलिकति झुत्ता बनाएर राखेको मकै पनि खाइदियो ।”
वराहक्षेत्र वडा नम्बर २ को २५ वटा फुसको घरमा हात्तीले क्षति पुर्याएको छ । पुनर्वास, रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टापु, चौँरी बारी, देवी थान क्षेत्रमा हात्तीले फुसका घर भत्काएर क्षति पुर्याएको वडा अध्यक्ष होमप्रसाद गौतमले बताउनुभयो । “राज्यले हात्ती नियन्त्रणका लागि संवेदनशील भएर नलागे स्थानीयमा ज्यानै मार्ला, अन्नपात खाइदिएर दुःख देला भन्ने त्रास सधैँ रहने भयो”, अध्यक्ष गौतमले भन्नुभयो ।
“२२ दिनदेखि यता दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका फिरन्ते जङ्गली हात्ती बेलुका भएपछि गाउँ पस्ने गरेका छन् । अहिलेसम्म मानवीय क्षति नभए पनि समूहमा हात्ती गाउँ पस्दा गाउँ नै आतङ्कित बनेको छ । गाउँलेहरू भेला भएर रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, वराह सब-डिभिजन वन कार्यालयका कर्मचारीलगायतको सहायतामा हात्ती धपाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
आछाम हुँदै झापाको बाहुनडाँगीबाट सर्लाहीसम्म पुग्ने हात्तीहरू आहारा र वासस्थानकै खोजीमा हिँड्दा बर्सेनि झापा, मोरङ्, सुनसरी, उदयपुर र सप्तरी लगायतका तराईका जिल्लामा क्षति पुर्याउने गरेको वडाध्यक्ष गौतमले बताउनुभयो ।
“उज्यालो भए हात्ती आउँदैनन् भन्छन् । यो जङ्गलको सिमानामा कसले बत्ती हालिदिने, हामीले जानेको त्यही घुर बाल्नु हो त्यही बालेर बस्छौँ,” स्थानीय माधव कार्कीले भन्नुभयो ।
वराहक्षेत्रकै ५ वडाको जङ्गलसँग जोडिएका गाउँमा हात्ती निस्कन थालेको वडाध्यक्ष रोहित काफ्लेले बताउनुभयो । गत वर्ष नडाहा, खोरिया, बीचपानी, विशाल चौक र सिमरवना क्षेत्रमा हात्ती गाउँमा निस्कँदा गाउँ नै आतङ्कित भएको थियो ।
हात्ती नियन्त्रणमा वराहा सब-डिभिजन वन कार्यालय
वराह सब डिभिजन वन कार्यालयका वन अधिकृत शिशुराज झा भन्नुहुन्छ, “हात्तीले दुःख दिइरहेको छ । हामीले मानवीय र अरू कुनै हानि नोक्सानी नहोस् भनेर हात्ती धपाउने कार्यदेखि हात्तीको निगरानीलाई तीव्रता दिएका छौँ । तर, पनि हात्ती नियन्त्रणमा आएका छैनन् । हात्ती प्रभावित गाउँहरूमा सूचना पाउनासाथ पुगेका छौँ । सबै प्रभावित गाउँहरूमा हामीसँग भएको जनशक्तिलाई परिचालन गरेर हात्ती धपाउने काम भइरहेको छ । वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका समितिदेखि हेरालु, स्थानीयवासीको संयुक्त रूपमा हात्ती धपाउँदै आएका छौँ ।”
हात्ती नियन्त्रण गर्नकै लागि मोबाइल टोली र नियमित गस्तीलाई पनि अगाडि बढाएको वन अधिकृत शिशुराज झाले बताउनुभयो ।
क्षतिपूर्तिको व्यवस्था
जङ्गली जनावर र हात्तीले क्षति पुर्याउँदा एक सिजनमा एकपटक मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेको बराह सब डिभिजन वन कार्यालयका वन अधिकृत शिशुराज झा बताउनुहुन्छ। उहाँले भन्नुभयो, “वनका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, कृषि प्राविधिकसहितको मुचुल्कापछि बालीमा क्षति भए एउटा किसानले अधिकतम १० हजारसम्म पाउने व्यवस्था थियो। नयाँ निर्देशिका लागु भएपछि २० हजार पाउने व्यवस्था छ ।”
जनावरहरूबाट सामान्य घाइते भएका मानिसलाई बिलको आधामा २० हजारसम्म दिने व्यवस्था भएको र अङ्गभङ्ग हुने गरी शक्त घाइते भएकालाई २ लाखसम्म र मानवको मृत्यु नै भएमा १० लाख दिने व्यवस्था रहेको वन अधिकृत झाले बताउनुभयो ।
गम्भीर घाइतेको हकमा घाइतेको प्रकृति हेरी पेस गरिएको प्रमाण र कागजात र कानुन बमोजिम उपचार खर्च बढीमा २ लाख दिने निर्देशिकामा उल्लेख गरिएको छ । २ लाख रुपियाँभन्दा बढी खर्च लाग्ने भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक उपचारमा लागेको खर्च र सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च अस्पतालको चिकित्सकको सिफारिसमा उपलब्ध गराउने नयाँ निर्देशिकामा उल्लेख गरिएको छ ।
अङ्गभङ्ग भई जीवनभर शारीरिक रूपले अशक्त भए जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपियाँ दिइने र मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई राहतस्वरुप १० लाख उपलब्ध गराउने निर्देशिकामा जारी गरिएको छ ।
वन्यजन्तुका कारण घर गोठको क्षति भएमा मूल्याङ्कनमा आधारमा बढीमा २० हजार रुपियाँसम्म राहत दिइने भएको छ । यसअघि यो रकम १० हजार थियो । २०८० को निर्देशिका कार्यान्वयनमा आएपछि वृद्धि भएको राहत र क्षतिपूर्ति रकम पाउने अधिकृत झाले बताउनुभयो ।
हात्ती नियन्त्रणमा विज्ञको भनाइ
हात्तीले हिँडिरहेको आफ्नो बाटोमै अहिले पनि हिँड्दा क्षति भएको हो । उ हिँड्ने बाटाहरू विनाश भए । ठुला बस्तीहरू बसे त्यसैले हात्ती हिँड्ने बाटोमा पूरै अवरोध भएकाले हात्तीले दुःख दिने गरेको हात्ती विशेषज्ञ अशोक रामले बताउनुभयो ।
पूरै अवरोध लगाउन त सकिँदैन केही हदसम्म नियन्त्रण गर्न सकिने हात्ती विशेषज्ञ अशोक रामले बताउनुभयो । उहाँले भन्नुभयो, “हात्तीलाई जिस्काएको मन पर्दैन, हात्तीले क्षति गरिरहेको बेला एक्लै धपाउन नहुने, समूहमा भएर होहल्ला गर्ने, राँको बालेर खेदाउन सकिन्छ । हात्तीभन्दा डेढ सय मिटर परबाट मात्रै हात्ती खेदाउने तर,हात्तीले कतिपय अवस्थामा क्षति गरिरहेको छ भने त्यहाँबाट उसले अन्नपात खाएरै जान्छ ।
“हामीले हात्ती नियन्त्रणका लागि हात्ती आउने बाटोमा सोलार फेन्सिङ लगाउँदै आएका छौँ । सोलार फेन्सिङले वन जङ्गल क्षेत्र घेरेर हैन हात्ती प्रभावित बस्तीलाई सोलार फेन्सिङले घेरेर निश्चित ठाउँबाट बाटो राखेर बस्तीलाई जोगाउन लाग्नुपर्नेछ,” विशेषज्ञ रामले भन्नुभयो । उहाँले रक्सी खाएर हात्ती खेदाउन नजाने, खोजमा, बारीमा भएको हात्ती खेदाउँदा सजग भएर खेदाउने र यस्तो अवस्थामा हात्तीले बढी आक्रमण गर्ने हुँदा समूहमा भन्दा पनि एक्लै भएको हात्तीले बढी क्षति गर्ने गरेको बताउनुभयो । हात्तीलाई जिस्काउन नहुने उसलाई जिस्काए बढी रिसाउने भएकाले क्षति बढी गर्ने गरेको उहाँको अनुभव छ ।
विशेषज्ञ अशोक भन्नुहुन्छ, “अफ्रिकातिर हात्ती खेदाउने बेग्लै चलन छ । उनीहरू हात्ती आउने बाटाहरूमा तारमा घारहरू राखेर ठुला जातका मौरीपालन गरेर पनि हात्ती नियन्त्रण गरेको पाइन्छ । हात्तीले मौरीको घारलाई छोएपछि मौरीले हात्तीलाई चिल्ने भएकाले यो उपाय अपनाएको पाइन्छ ।”