• १४ मंसिर २०८१, शुक्रबार

देशलाई सङ्कटबाट एमालेले पार लगाउँछ : पूर्वमन्त्री विष्ट

blog

एमाले सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टसहित नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले मुलुकलाई सङ्कटबाट पार लगाउने शक्ति एमाले मात्र भइएको बताउनुभएको छ । 

एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई सङ्कटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको उहाँको भनाइ छ । 

आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको सङ्कट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको उहाँले चर्चा गर्नुभयो । सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पुँजीको निर्माण गर्ने कार्यमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल आज जुन प्रकारले गम्भीर सङ्कटको सामना गरिरहेको छ । यो सङ्कटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक–सामाजिक रूपान्तरण गरी नेपाली जनताको जीवन सुरक्षित गर्ने काम एमालेले मात्र गर्न सक्छ ।’

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा बिदेसिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्नेगरी एमालेले योजना तर्जुमा गरिरहेको बताउनुभयो । उहाँले पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउन प्रेस चौतारीकर्मीलाई आग्रह गर्नुभयो ।