• १४ मंसिर २०८१, शुक्रबार

बेनी–जोमसोम सडक अवरुद्ध

blog

बेनी–जोमसोम सडक खण्ड । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २१ गते । शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डको बैसरीमा सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला–कालिगण्डकी करीडोर सडक आयोजना अन्तर्गतको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । 

वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकलाई समस्या भएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगङ्गा गाउँपालिका –१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन पनि जोखीम भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले बताउनुभयो । 

हिजो रातिदेखि नै सडक अवरुद्ध भएको छ, आज खुल्ने सम्भावना न्यून छ उहाँले जानकारी दिनुभयो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक भने सुचारु अवस्थामा रहेको प्रनाउ कुँवरले बताउनुभयो ।