• १० मंसिर २०८१, सोमबार

सुदूरका जलसम्पदा

blog

गोकर्ण दयाल 

बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो । 

२०८० साउनमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् उद्घाटन भएपछि बलाँच, मकरीगाड, नौगाडसहित चमेलिया नदीबाट मात्रै ९६.५ मेगावाट बिजुली उत्पादन भएको छ । बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेगावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट कुल १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सुदूरपश्चिममा रहेका अपार जलसम्पदाले अब आर्थिक समृद्धिको ढोका उघार्दै छन् । 

माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट दार्चुलाको मार्मा गाउँपालिकाले वार्षिक तीन करोड रुपियाँभन्दा बढी रोयल्टी पाउने भएको छ । आयोजनाले स्थानीय स्तरमा रोजगारी र लगानीको ढोका खोलेको छ । यस आयोजनाले दार्चुलाको दुर्गम मार्मा गाउँपालिकाको मुहार फेर्नुका साथै सुदूरका अँध्यारा बस्ती उज्याला हुँदै छन् । जलविद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सय जनाभन्दा बढी स्थानीयवासीले रोजगारी प्राप्त गरेका छन् । कृषि उपज बिक्री गरेर स्थानीयवासीले कमाएका पनि छन् । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले जलविद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउने भएको छ । जलविद्युत् आयोजना बन्नुअघि मार्मा गाउँपालिकाको गत दुई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा जम्मा ४०/५० लाखभन्दा बढी आन्तरिक अम्दानी हुन सकेको थिएन । विद्युत् आयोजनाले नेपाल सरकारलाई वार्षिक पाँच करोड रुपियाँ रोयल्टी बुझाउँदा मार्मा गाउँपालिकाले तीन करोड रुपियाँभन्दा बढी रोयल्टी प्राप्त गर्ने छ । प्राप्त रोयल्टी मार्माको विकासमा खर्च हुने छ । 

७१ प्रतिशत घरधुरीमा बिजुली 

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका कुल पाँच लाख ४० हजार ७४५ घरमध्ये तीन लाख ६० हजार १२३ घरमा बिजुली पुगेको छ । घरको सङ्ख्याको अनुपात हेर्ने हो भने सुदूरपश्चिममा ७१.०७ प्रतिशत घरमा बिजुली पुगेको छ । कैलाली, कन्चनपुरमा ९७ प्रतिशत, डोटीमा ८१, डडेल्धुरामा ७९ प्रतिशत घरमा बिजुली पुगेको तथ्याङ्क छ । 

बैतडीमा ३४, दार्चुलामा ४०, अछाममा ४५, बझाङमा २१ र बाजुरामा १३ प्रतिशत घरमा बिजुली पुगेको सुदूरपश्चिम विद्युत् वितरण केन्द्र, अत्तरियाको तथ्याङ्क छ । बैतडी, दार्चुला र बझाङका स्थानीय नदीबाट १५० मेघावाट बिजुली उत्पादन भए पनि यहाँका अधिकांश घर अँध्यारो हुनु विद्युत् वितरणमा भएको असमानताले हो । विद्युत्को समान वितरण गर्न निर्वाचित जनप्रतिनिधिले ख्याल गरेर अपार जलसम्पदाको भण्डारका रूपमा रहेको सुदूरपश्चिमको समृद्धिको ढोका खोल्नु पर्छ । 

२०८० साउनमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् उद्घाटन भएपछि बलाँच, मकरीगाड, नौगाडसहित चमेलिया नदीबाट मात्रै ९६.५ मेगावाट बिजुली उत्पादन भएको छ ।  

सुकिला बने हाटबजार 

विद्युत् आयोजनाले दार्चुला र बैतडीका दुर्गम गाउँमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ । दार्चुलाको मार्मा गाउँपालिकाका चार ठाउँमा रहेका परम्परागत हाटबजार सुकिला बन्न थालेका छन् । १४ हजार ९५६ जनसङ्ख्या रहेको मार्मा गाउँपालिकामा कुल छ वटा वडा छन् ।

विद्युत् अयोजना बनेपछि मार्मा गाउँपालिकाका छ वटा वडामध्ये चार ठाउँमा बजारीकरण सुरु भएको छ । लटिनाथ, सेलीबासा, सिमार र पारिबगर व्यापारिक केन्द्र बन्न थालेका छन् । मार्माको मुख्य बजारका रूपमा रहेको लटिनाथमा करिब दुई सय पक्की घर ठडिएका छन् । लटिनाथमा सहरका जस्तै घर बन्न थालेका छन् । विद्युत् आयोजनासँगै गाउँमा सडक आएपछि स्थानीयवासीलाई पक्की घर बनाउन सहज भएको स्थानीय नरबहादुर विष्टले अनुभव सुनाउनुभयो । होटल व्यवसायीसमेत रहनुभएका विष्टले विद्युत् आयोजनाका ठुला–ठुला मेसिन उपकरण ल्याउन गाउँमा फराकिलो सडक बनेपछि मार्मावासीले सित्तैमा सडक पाएको बताउनुभयो । गाउँमा होटल व्यवसाय पनि फस्टाउन थालेको छ ।  परम्परागत खेती किसानीमा निर्भर मार्माका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको छ । तरकारी र दुग्धजन्य कृषि उपजबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेपछि मार्मा गाउँपालिका समृद्धिको बाटोमा अघि बढेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंह बताउनुहुन्छ ।