• २२ असार २०८१, शनिबार

क्यान्सर अस्पतालमा तीस हजार बिरामीको उपचार

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन २१ गते ।   बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ। 

यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन्। अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन। काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ। 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीरज भट्टराईले दैनिक दुई सयदेखि तीन सय बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो। 

उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर चार सय जनशक्ति आवश्यक रहेको ठहर गरी सरकारसँग माग गरेको बताउनुभयो। 

डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृतस्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहेकामा २७ जना थप माग गरिएको, ५८ जना सहायकस्तरका कर्मचारी करारमा रहेकाले ३४ जना थप माग गरिएको छ। साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन मन्त्रालयमा माग गरिएको छ। 

बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको र हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहेकामा थप छ जना माग गरिएको र पाँच जना मेडिकल अफिसर रहेकामा थप दुई जना माग गरिएको छ। 

पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्षमा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ। 

अस्पतालका प्रमुख डा. भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवासुविधामार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ। 

यसअघि तीन प्रदेशका बिरामीलाई क्यान्सर उपचारका लागि चितवन, काठमाडौँ वा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेकामा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ। 

गत आवमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ। तीमध्ये केही शल्यक्रिया अति नै जटिल किसिमका र काठमाडौँमा समेत नभएको शल्यक्रिया सेवा पनि गरिएको जनाइएको छ। 

यसै गरी ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार सुरु गरिएको छ। अस्पतालमा दुई वटा अत्याधुनिक अपरेसन थिएटर, भिडियो एक्सरे र सिटी स्क्यान पनि सुचारु रहेको छ। 

अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दूरबिन प्रविधिबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिस्टोप्याथोलोजी सेवा सुचारु  छन्।