• १३ मंसिर २०८१, बिहिबार

बिउ आलुको मूल्य निर्धारण

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन २१ गते ।  डडेलधुरामा उत्पादन भएको बिउ आलु प्रतिकिलो ५० रुपियाँ निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ डडेलधुराले शनिबार आयोजना गरेको गोष्ठीबाट बिउ आलुको मूल्य निर्धारण गरिएको हो । 

हिउँदे र बर्खे गरी दुई वटै सिजनको बिउ आलुको मूल्य प्रतिकिलो ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यवसायीलाई १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको हो । 

किसान, आलुका व्यवसायी, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, स्थानीय तहका कृषि शाखा संयोजकको उपस्थितिमा मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन एकाइ डडेलधुराका प्रमुख ध्रुव जोशीले जानकारी दिनुभयो ।

डडेलधुराको शीत भण्डारमा भण्डारण गरिएको बिउ आलुलाई बिक्री गर्ने र बिउ अपुग भए डडेलधुरामै उत्पादन गरी कैलालीका शीत भण्डारमा राखिएको बिउ आलुबाट आपूर्ति गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यस वर्ष आलु व्यवसायीले ३० रुपियाँ प्रतिकेजी किसानबाट खरिद गरेकाले बिउ आलुको मूल्य गत वर्षभन्दा कम निर्धारण गरिएको उहाँले बताउनुभयो । 

किसानबाट ३० रुपियाँ प्रतिकेजी आलु खरिद गरिसकेपछिको लागत शीत भण्डारको भाडा, यातायात खर्च, उतारचढाव खर्च, कुहिने घट्ने आलुको तौल, १४ प्रतिशत बैङ्कको ब्याज र १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो । 

डडेलधुरामा करिब एक हजार तीन सय हेक्टर क्षेत्रफमा आलु खेती गरिँदै आएको छ । ९६० हेक्टर क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको चक्लाबन्दीमा आलु खेती गरिएको परियोजना अधिकृत जोशीले बताउनुभयो । कृषि ज्ञान केन्द्र र स्थानीय पालिका अन्तर्गत ३४० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । आलुको उत्पादकत्व २२.७४ रहेको छ । डडेलधुरामा प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा बढी आलु उत्पादन हुने गरेको छ । आलुमा जिल्ला आत्मनिर्भर भएको उहाँको भनाइ छ । डडेलधुरा जिल्ला सदरमुकाममा सात हजार क्विन्टल भण्डारण क्षमता भएको एउटा शीत भण्डार छ ।