• ३ जेठ २०८२, शनिबार

सुनमा नाम जोडिएका नेतामाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यको माग

blog

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, साउन २० गते। नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेतामाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यले माग गरेका छन्। केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरेर दोषी देखिए कारबाही गर्न माग गरेका हुन्। 

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन्। पार्टी भित्रका नेतामा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका हुन्। 

बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताउनुभयो। उहाँले नेताको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतमाथि पनि प्रश्न उठेको बताउनुभयो। 

पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी कुनै उजुरी नआएको बताउनुभयो। यद्यपी कोही नेताको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिनुभएकोले सो वचनमा विश्वास गर्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘के स्पष्ट पारौँ भने मिडियामा आउन बित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानुनी र संवैधानिक व्यवस्था छैन। त्यसो गर्नका निमित्त उजुर पर्नुप¥यो। उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो। ठुलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्नेबित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ। यहाँ त एकले अर्कोलाई आरोप लगाउने खेल भइरहेको छ।  हाम्रो पार्टी भित्रका पनि कोही न कोही नेताहरु यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिन भनेर प्रधानमन्त्रीले, पार्टीले अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सबैले सहयोग गरौँ।’’

केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताको संलग्नता पुष्टि भएमा नेतालाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताउनुभयो। उहाँले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरु परे पनि कारबाहीबाट पछि हट्नु नहुने बताउनुभयो। 

यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परे पनि छोड्नु नहुने बताउनुभयो। अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। उहाँले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गर्नुभयो। 

केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्नु नहुने बताउनुभयो। उहाँले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताउनुभयो। 

केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरुको संलग्नता भए पनि नछाडिने बताउनुभयो। उहाँले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने बताउनु भयो। 

उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभुति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परेपनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा केन्द्रीय सदस्यको एक स्वर रहेको बताउनुभयो। उहाँले देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरुलाई कारबाही गर्नैपर्ने धारणा राख्नुभयो।