• ४ जेठ २०८१, शुक्रबार

उच्च जोखिममा झोलुङ्गे पुल

blog

बाढीसँगै पहिरो गएका कारण जोखिमयुक्त बनेको इन्द्रावती खोलाको झोलुङ्गे पुल।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २० गते। गएको असार पहिलो साता भीषण वर्षासँगै खोलामा आएको बाढीका कारण झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ। पूर्वी ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलामा आएको बाढीसँगै गएको पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा पुगेको हो।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–५ थर्पु जोड्ने इन्द्रावती खोलाको झोलुङ्गे पुल जोखिममा रहेको छ। पाँचथरतर्फ झोलुङ्गे पुलको जग (जिप) रहेको भागमा बाढी र ठूलो पानीको बहावसहित आएको खोलाले कटान गरेपछि पुल जोखिममा पुगेको हो।

हाल सो झोलुङ्गे पुल उच्च जोखिममा रहेका कारण आवतजावतमा समस्या सिर्जना भएको छ। साब्लाखुका स्थानीय टीकाराम मिश्रका अनुसार झोलुङ्गे पुल जीर्ण अवस्थामा रहे पनि जोखिम मोलेरै सर्बसाधारण आउजाउ गर्ने गरेका छन्।

 खोलामा ठूलो बाढी आएको र जग रहेको भाग वरिपरि पहिरो बगेका कारण झोलुङ्गे पुल जोखिमयुक्त बनेको मिश्रको भनाइ छ। उहाँकाअनुसार सो क्षेत्रमा अन्य विकल्प नभएपछि सर्वसाधारण यात्रु  जोखिमयुक्त झोलुङ्गे पुलकै प्रयोग गर्न बाध्य भएका छन्। 

यता जोखिम मोलेरै सर्वसाधारणले आउजाउ गर्नुपर्ने बाध्यता रहे पनि अहिलेसम्म सो झोलुङ्गे पुलको व्यवस्थापन तथा मर्मत गर्नेतर्फ कसैको ध्यान नगएको पनि मिश्रले बताउनुभयो। सो पुलको प्रयोग गर्ने अधिकांस ताप्लेजुङतर्फका हुने गरेका छन्। सार्वजनिक स्रोत वा सम्पत्ति भएकाले झोलुङ्गे पुलको मर्मत तथा संरक्षणका लागि राज्य तहबाट पहल हुनुपर्ने स्थानीयले बताएका छन्।

जीर्ण पुलको मर्मत तथा व्यवस्थापनका लागि हालसम्म सिदिङ्वा गाउँपालिका र पाँचथरको याङ्वक गाउँपालिका दुवैले चासो नदिएका स्थानीयको गुसानो छ। आउजाउ गर्नमा धेरै प्रयोग हुने यो झोलुङ्गे पुलको मर्मत–सम्भारका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारको ध्यान चाँडो जानुपर्ने माग पनि स्थानीयको माग रहेको छ। स्थानीयका अनुसार उक्त झोलुङ्गे पुल करिव २५ वर्षभन्दा पहिले निर्माण गरिएको हो।