• ४ पुस २०८१, बिहिबार

कोहलपुर नगरपालिकाद्वारा ४३ करोड बेरुजु असुली अभियान सुरु

blog

बेरुजु असुली अभियान चलाएको कोहलपुर नगरपालिका कार्यालय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २० गते । बाँकेको कोहलपुर नगरपालिकाले ४३ करोड बेरुजु असुलीमा कडाइ गर्दै असुली अभियान नै सुरु गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्षसम्मको ४३ करोड ६६ लाख रुपियाँ बेरुजु रहेको जनाउँदै सो असुलीमा कडाइ सुरु गरिएको बताउनुभयो । 

उहाँले महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु असुल गरी सुशासनको प्रत्याभूति नगरवासीलाई गराउने उद्देश्यले असुली अभियान नै सञ्चालन गरिएको पनि बताउनुभयो । 

नगरपालिकाले सोही अभियान अन्तर्गत नगर प्रमुख आचार्यले   सूचना प्रकाशित गरेर कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७३७ रुपियाँ, असुल उपर गर्नुपर्ने बेरुजु एक करोड ४३ लाख ७८ हजार ७४४ रुपियाँ र म्याद नाघेको पेस्की बेरुजु पाँच करोड ८० लाख ४३ हजार ३०५ रुपियाँ रहेको जानकारी गराएको छ । 

नगर प्रमुख आचार्यका अनुसार नगरपालिकाले बेरुजु फर्छ्यौट गर्नका लागि ३१४ जनालाई पत्र काटेको छ । नगरपालिकाले हालसम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको र यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको जनाएको छ । नगर प्रमुख आचार्यका अनुसार बेरुजु फर्छ्यौटको लागि कर्मचारीलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन पनि दिइएको छ ।