• ११ मंसिर २०८१, मङ्गलबार

नयाँ व्यवसाय दर्ता सङ्ख्या घट्दै

blog

इमान सिं राना
रामपुर (पाल्पा), साउन २० गते ।
साना लगानीका उद्योग तथा व्यवसाय फर्म दर्ता स्थानीय तहबाट भएसँगै घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा नयाँ फर्म दर्ता सङ्ख्या घट्न थालेको छ । पाँच लाख पुँजिसम्मको फर्म दर्ता स्थानीय तह मै हुन थालेपछि कार्यालयमा नयाँ दर्ता सङ्ख्या घटेको हो ।

कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा उद्योग ५२१ र वाणिज्य फर्म ३७१ गरी ८९२ नयाँ फर्म दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा उद्योग २१३ र वाणिज्य फर्म १८४ गरी ३९७ नयाँ फर्म दर्ता भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।

गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९ वटा, कृषि तथा वनजन्य १३३ वटा, पर्यटनमा ३६ वटा र सेवामूलक २५ वटा उद्योग नयाँ दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष सम्म सञ्चालनमा रहेका तीन हजार ८३३ उद्योगमध्ये १४३ वटा फर्म खारेज भएको छ ।  

वाणिज्य तर्फ किराना, फेन्सी तथा कपडा, कास्मेटिक, इलेक्ट्रोनिक्स, हार्डवयर, स्टेशनरी, भाँडा पसल, मदिरा तथा सुर्तीजन्य, सुनचाँदी र अन्य गरी अघिल्लो आर्थिक वर्ष सम्म सञ्चालनमा रहेका ४ हजार ४ सय ३७ फर्म मध्ये १ सय ९४ वटा फर्म खारेज गरेको पाईएको छ । गत वर्ष वर्षमा कार्यालयले फर्म नयाँ दर्ता, नविकरण, पुँजि वृद्धि बाट उद्योग तर्फ १९ लाख ४६ हजार १६४ र वाणिज्य तर्फ २६ लाख २० हजार ३७८ गरी ४५ लाख ६६ हजार ५४२ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारीले सङ्घीयताको मर्मअनुसार पाँच लाख सम्मको व्यवसाय स्थानीय तह मै गर्न सकिने भएकाले नयाँ उद्योग दर्ताको सङ्ख्या कार्यालयमा घट्न गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच लाख सम्मको उद्योग तथा व्यवसाय स्थानीय तहमा गर्न हामीले नै अनुरोध गर्दै आएका छौं । कार्यालयमा नयाँ दर्ता घटे पनि जिल्ला भरि नै दर्ता घटेको भने होइन ।” जिल्लामा कृषि तथा वनजन्य उद्योग नै बढी सञ्चालन हुने भएकाले साना लगानीमा सञ्चालन हुने ती उद्योगहरु अहिले स्थानीय तहमा नै दर्ता हुँदै आएको बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार उद्योग तर्फ कृषि तथा वनजन्यमा अघिल्लो आर्थिक वर्षमा ३२६ दर्ता भएकोमा गत वर्ष १३३ मात्र दर्ता भएको देखिन्छ । पाल्पामा हाल उद्योगतर्फ तीन हजार ९०१  र वाणिज्यतर्फ चार हजार ४२० व्यवसाय घरेलुमा दर्ता भएर सञ्चालनमा रहेको छ ।